रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, मा क्षमता विकास सम्बन्धिको एक दिन अभिमुखिकरण कार्यक्रम भएको छ । वडा कार्यालयको आर्थिक सहयोग र सृजनशिल युवा सञ्जालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दिगो विकास, लैंगिक समानता, लैंगिक सम्बन्धिका नीति, कार्यक्रम कानूनका विषयमा जानकारी गराइएको थियो ।
विपद्, विपद्जन्य घटना, उद्दार र राहतको विषयमा पनि अभिमुखिकरण गरिएको वडा सदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो । वर्षाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कता, ध्यान दिनुपर्ने कुराका विषयमा पनि जानकारी गराइएको वडा सदस्य खड्काले बताउनुभयो ।
बैठक सञ्चालन, व्यवस्थापन, सहजिकरणका विषयमा पनि जानकारी गराएको थियो । कार्यक्रममा जनप्रतिनिधि, वडाका अगुवा, टोल समितिका पदाधिकारी लगायतको सहभागिता थियो । ललित बुढा, प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर नेपाली, हरि विष्ट, खड्कसिङ कठायत लगायतले अभिमुखिकरणको सहजिकरण गर्नुभएको थियो ।
कामकाजका क्रममा क्षमता विकासका काम गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षमा पनि क्षमता विकास सम्बन्धिको कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष गोपेश्वर केसीले बताउनुभयो । हरेक क्षेत्रको क्षमता विकास हुनुपर्छ भन्ने मान्यताले हरेक वर्ष यसरी नै विभिन्न विषयका जानकारीलाई वडामा ल्याएर कार्यक्रम गर्दै आएको वडाध्यक्ष केसीले बताउनुभयो ।