Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा दाना उद्योग 
शितलपाेखरीमा स्थापना गरिएकाे दाना उद्याेग ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा दाना उद्योग स्थापना गरिएको छ । वडा नं. ४ को शितलपोखरीमा कुखुरा र पशुको दाना उत्पादन गर्ने उद्योग स्थापना भएको हो । उद्योगमा मुसीकोट नगरपालिकाको ५२ लाख खर्च भएको छ । उद्योगबाट मास दाना तथा प्लेट दाता उत्पादन हुने छ । टर्कीबाट मेशिन ल्याएर शितलपोखरीमा दाना उद्योग स्थापना गरिएको हो । उक्त उद्योगको शनिबार परीक्षण समेत गरिएको छ । परीक्षण सफल भएको र अव केहि समयमा उद्योग संचालन हुने वडाध्यक्ष निर्मलकुमार पुनले जानकारी दिनुभयो । उद्योगका लागि आवश्यक संरचना निर्माण र उपकरण जडानको काम सम्पन्न भइ परीक्षण समेत सफल भएको र अव केहि समयमा उद्घाटन हुने उहाँको भनाई छ । 

उहाँका अनुसार यस उद्योगको क्षमता प्रतिघण्टा ३ सय देखि ५ सय केजि दाना उत्पादन गर्ने रहेको छ । उद्योगमा सबै प्रजातिका कुखुरा, गाई, भैंसी तथा सबै पशु पंक्षीको दाना उत्पादन हुने छ । माछाको दाना समेत उत्पादन गर्ने लक्ष राखिएको छ । अव जिल्लामै दाना उद्योग स्थापना भएपछि जिल्ला बाहिरबाट दाना ल्याउनुपर्ने बाध्यतामा कमि आउने विश्वास गरिएको छ । हाल जिल्लामा दाङ, नेपालगञ्ज सहित अन्य ठाउँबाट दाना ल्याउने गरिएको छ । अव जिल्लालाई पुगेर पनि अन्य जिल्लालाई समेत धान्न सक्ने क्षमता उद्योगको रहेको वडाध्यक्ष पुनले बताउनुभयो । उद्योगको क्षमता अनुसार दाना उत्पादन हुने हो भने रुकुम पश्चिम सहित रुकुम पूर्वलाई पनि पुगेर छिमेकी जिल्ला रोल्पा, सल्यान, जाजरकोट, डोल्पासम्म पनि पुर्याउन सकिने उहाँले बताउनुभयो । 

मकै, गहुँ, जौं, भटमास लगायतमा पिना, चुनढुंगा, हड्डी, भिटामिन लगायतका पोषण तत्व मिलाएर दाना उत्पादन हुने बताईएको छ । यो उद्योग वडामा रहेको जनहित सहकारी संस्थाले संचालन गर्ने छ ।
 

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update