Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा गहुँ उत्पादन घट्यो 

रुकुम पश्चिममा गहुँ उत्पादन घटेको छ । गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/०७८ मा गहुँको उत्पादन घटेको हो । गत वर्ष १४ हजार ५ सय १६ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा भने ११ हजार २ सय ४१ मेट्रिक टन मात्र गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३ हजार २ सय ७५ मेट्रिक टन अर्थात २२ दशमलव ५६ प्रतिशत कम हो । जिल्लामा कुल ९ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा गहुँ खेति हुने गरेको छ । 

यो वर्ष कम पानी पर्दा गहुँ उत्पादनमा कमि आएको कृषि विकास कार्यालयका सूचना अधिकारी प्राविधिक सहायक महेशकुमार बिष्टले जानकारी दिनुभयो । असोज देखि चैत्रको बिचमा एकदम कम पानी परेकाले गहुँ उत्पादनमा गिरावट आएको उहाँको भनाई छ ।  गहुँको मुख्य जरा लाग्ने बेलामा पानीको एकदमै आवश्यकता पर्ने र त्यसबेला आकाशबाट पानी नपरेका कारण गहुँ उत्पादन जिल्ला भरमा घटेको उहाँले बताउनुभयो । जिल्लामा सिञ्चित भन्दा असिञ्चित भुभाग बढी रहेको छ । करिब ३ हजार २ सय हेक्टर खेतियोग्य जमिन मात्र सिँचाईको पहुँचमा छ । 

बाँकी जमिनमा आकाशे पानीको भरमा खेति हुने गरेको छ । जिल्लामा उत्पादन घटबढ्मा आकाशे पानी प्रमुख कारण रहेको कृषि विकास कार्यालयको भनाई छ । कार्यालयका अनुसार पानी परेको वर्ष उत्पादन बढ्ने र पानी कम परेको वर्ष उत्पादन घट्ने गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update