मुसीकोट नगरपालिकाका शिक्षकहरुलाई आँखा सम्बन्धि आधारभुत तालिम दिईएको छ । आँखा उपचार केन्द्र सल्लेले नगरभरका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागि आज एक दिने आधारभुत आँखा स्वास्थ्य शिविर संचालन गरेको थियो । तर तालिममा १६ वटा विद्यालयका शिक्षकहरु मात्र सहभागि भएका थिए । उनिहरुलाई आँखाको सुरक्षा, आँखामा देखिने रोग, आँखा स्वस्थ राख्ने उपाय, दृष्टि दोष हुन नदिन के गर्ने भन्ने लगायतका बारेमा सिकाईएको आँखा उपचार केन्द्रका प्रमुख धनवहादुर केसीले जानकारी दिनुभयो ।
नियमित जाँच गरी बिद्यार्थीको आँखा स्वस्थ बनाउने उदे्श्यले तालिम आयोजना गरिएको उहाँले बताउनुभयो । बिद्यार्थी भर्ना गर्नभन्दा अगाडि अनिवार्य आँखा जाँच गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन् । अव भने भर्ना लिनुभन्दा अगाडि तालिमप्राप्त शिक्षकले आँखाको जाँच गर्नुका साथै बिद्यालयमा अध्यनरत सबै बिद्यार्थीहरुको आँखा जाँच गर्ने छन् । केहि समस्या देखिएमा उपचारका लागि बिद्यार्थीहरुलाई आँखा उपचार केन्द्रमा पठाईने छ । यसबाट बिद्यार्थीको आँखा स्वस्थ हुनुका साथै अन्धोपना कम गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।
अहिले बिद्यालयमा आँखा जाँचको कुनै व्यवस्था नहुँदा धेरै बिद्यार्थी तथा शिक्षकहरुमा आँखा सम्बन्धि विभिन्न समस्याहरु देखिने गरेका छन् ।सामान्य समस्याको पनि समयमै उपचार नगरिदा पछि आँखाको दृष्टि नै गुम्ने सम्मको जोखिम रहने भएकाले यसतर्फ गम्भिर हुँदै तालिम संचालन गरिएको आयोजकले जनाएको छ । शिक्षकहरुलाई राप्ती आँखा अस्पतालका वाह्य कार्यक्रम संयोजक सालिकराम गौतम र आँखा उपचार केन्द्र सल्लेका प्रमुख केसीले सिकाउनुभएको थियो ।