Kakhara सबैको खबर सम्पूर्ण खबर
जनयुद्धमा सहिद बनेकाहरुको सम्झनामा स्मृति पार्क
निर्माणाधिन सहिद पार्क, सिस्ने गाउँपालिका २, रुकुम पूर्व ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका २, नेटामा निर्माण कार्य सहिद स्मृति पार्क अन्तिम चरणमा पुगेको छ । जनयुद्धका सहिदहरुको सम्झना र सम्मानमा नेटामा व्यवस्थित स्मिृति पार्क बनाउन लागिएको हो । तीन वर्ष अघिदेखि यो पार्क निर्माण भइरहेको छ । सिस्ने गाउँपालिका, लुम्बिनी प्रदेश र संघीय सरकारको सयुंक्त लगानीमा पार्क निर्माण भइरहेको छ ।

वडाध्यक्ष जीवन केसीले आगामी आर्थिक वर्षमा सबै काम सम्पन्न हुने गरी काम भइरहेको जानकारी दिनुभयो । हालसम्म पार्कले अलि अलि आकार लिइरहेको भनाई अध्यक्ष केसीको छ । सहिदहरुको सम्झना र सम्मान तथा युद्ध पर्यटकीय दृष्टिकोणबाट पनि पार्क निर्माण थालिएको वडाध्यक्ष केसीले बताउनुभयो । जनयुद्धको दौरानमा सहिद भएकाहरुको अर्धकदको सालिक सहित पार्क निर्माण भइरहेको हो ।

पार्कमा के के हुन्छ त ?
नेटामा बन्दै गरेको यो सहिद स्मृति पार्कमा एउटा भवन छ । एल आकारमा बनेको भवन भित्र ग्यालरी बनाइने छ । संग्राहलय बनाइने छ । बगैचा निर्माण भएको छ । सहिदहरुको शालिक राख्नका लागि १५ स्तम्भ तयार छन् । शौचालय, खानेपानीको व्यवस्था गरिएको छ । नेटाबाट अन्य क्षेत्रको दृश्यावलोकनको व्यवस्थापन गरिएको छ । 

क-क कसका शालिक रहनेछन् त पार्कमा
जनयुद्धमा निधन भएका सहिदहरुको अर्धकदका शालिक राख्ने तयारी छ । वडा कार्यालयले त्यसरी बनाउन पनि लगाइसकेको छ । बगैचामा रहेका स्तम्भमा लक्षिराम केसी, डिलबहादुर पुन, जोखबहादुर पुन,  विष्णु खड्का, हंश पुन, डम्मर पुनको शालिक राखिने छ । यसैगरी गंगालाल केसी, हर्कबहादुर पुन, लक्षिराम खड्का, कर्ण खड्का, पिमा खड्का, दिलबहादुर खड्का र कमान पुनको अर्धकदको शालिक राखिनेछ । यसको साथसाथै जिल्लाभरीका सहिदको नाम लेखिएको स्तम्भ पनि बगैचामा तयार छ । त्यसमा जिल्लाका सबै सहिदको नाम उल्लेख गर्ने तयारी छ । 

कतिमा बनिरहेको छ त यो पार्क ?
सहिद पार्क निर्माणमा सिस्ने गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र संघीय सरकारले बजेट विनियोजन गरिरहेका छन् । त्यसैबाट यो निर्माणको काम भइरहेको छ । आर्थिक वर्ष २०७५/०७६ बाट यो निर्माण थालिएको थियो । त्यो आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ३० लाख बजेट विनियोजन गरेको थियो । त्यसबाट तीन कोठाको भवन निर्माण गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा प्रतिनिधि सभा सदस्य कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ५० लाख बजेटबाट विभिन्न संरचना निर्माणको काम गरिएको थियो ।

चालु आर्थिक वर्ष २०७७/०७८ सालमा १ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । गाउँपालिकाको ५०, प्रदेशको समपूरकको ५० लाख, प्रदेशको अर्को शीर्षकको १० र गाउँपालिकाका ४ लाखमा पार्क निर्माणको थप काम भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ मा एक करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको ५० र प्रदेशको ५० लाख बजेटबाट पार्क निर्माणका बाँकी काम पूरा गर्ने वडाध्यक्ष केसीले बताउनुभयो । 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update