Kakhara सबैको खबर सम्पूर्ण खबर
अर्थमन्त्री शर्माद्धारा स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्विकृत 

अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्यकर्मीहरुलाई उत्साहित भएर बिरामीको उपचारमा सहभागी हुन आग्रह गर्नुभएको छ । पदबहाली गरेपछि सुरुमै स्वास्थ्य मन्त्रालयको प्रस्तावित कार्यक्रमलाई स्विकृत गरेर काम सुरु गर्नुभएका शर्माले स्वास्थ्यकर्मीलाई कोभिड जोखिमभत्ता नियमित उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभएको हो । 

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि उहाँले ६५ करोड १४ लाख रुपैंया स्विकृत गर्नुभएको छ । अव स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता समयमानै उपलव्ध गराउने मन्त्री शर्माको भनाई छ । शर्माले भन्नुभयो, ‘सरकारमा नहुँदा पनि मैले स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिन दबाब दिदैं आएको थिँए । अहिले म सरकारमा छु, त्यसैले स्वास्थ्यकर्मी साथीहरु ढुक्क हुनस्, जोखिमभत्ता नियमित दिलाउँछु ,म तपाईहरुकै साथमा छु ।’  

उहाँले ज्यानको बाजी थापेर दिनरात नभनी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु अब निराश हुन नपर्ने बताउनुभयो । स्वास्थ्यकर्मीहरु महामारीमा मात्रै नभई अन्य बेलाको पनि कमाण्डर रहेको भन्दै उहाँले  स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्नुभयो । अर्थमन्त्री शर्माले कोरोना महामारी सुरु भएदेखिनै स्वास्थ्यकर्मीको सेवा सुविधाबारे आवाज उठाउँदै आउनु भएको थियो भने उहाँ अस्पताल निर्माण तथा अक्सिजन व्यवस्थापनमा लाग्नुभएको थियो । 

अर्थमन्त्री शर्माले पदबहाली गरेलगत्तै स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण ३ वटा फाइललाई स्विकृति प्रदान गर्नुभयो । कोरोना खोपका लागि ५ अर्ब रकम निकासा गर्नुका साथै आइसियु तथा एचडियु भेन्टिलेटरका लागि स्वास्थ्य मन्त्रालयले माग गरेको बजेटलाई सहमति दिनुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update