रुकुम पश्चिममा जारी निषेधाज्ञा फेरि पनि थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । गत वैशाख १९ गते सुरु गरिएको निषेधाज्ञा आठौं पटक थप भएको हो ।
यस अघि साउन १ गते राति १२ बजेसम्म रहेको निषेधाज्ञा अब साउन ८ गते राति १२ बजेसम्म लम्ब्याइएको छ । कोरोना संक्रमण दरमा कमि आएको भएपनि रोक,थाम नियन्त्रणमा थप सहजता बनाउन भन्दै निषेधाज्ञा थप गरिएको सूचना जारी भएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको आदेशमा कोभिड–१९, संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (३)ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञालाई निरन्तरता दिइएको उल्लेख छ ।
अरु सबै निर्णय यस अघिकै कार्यान्वयन गर्ने गरी निषेधाज्ञा मात्रै थप गरिएको प्रजिअ गैह्रेले बताउनुभयो । कोरोना थप फैलन नदिन उच्च सतर्कता अपनाउनुपर्ने र हरेक खालका कामकाज गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनालाई कडाईपूर्वक लागु गर्ने निर्णय पनि भएको छ । जिल्ला भित्र विहान ६ देखि बेलुका ६ बजेसम्म सवारीका साधन सञ्चालन हुने,जिल्ला बाहिर जाने र आउने सवारी साधनले पास र अनुमति लिनुपर्ने व्यवस्थालाई कायमै राखिएको छ । अरु पसल, व्यवसाय विहान ६ देखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाउने, व्यवसाय सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।