रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले हरेक वर्ष राजश्व बढाउँदै लिएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भए यता हालसम्मका हरेक आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक राजश्व बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्म आइपुग्दा हरेक आर्थिक वर्षमा राजश्व बढ्दै गएको छ ।
स्थानीय तह भए यताकै बढी राजश्व गत आर्थिक वर्ष २०७७/०७८ मा भएको छ । यो आर्थिक वर्षमा नगरपालिकाले लक्ष मात्रै पूरा गरेन लक्ष भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । त्यस अघिका हरेक आर्थिक वर्ष राजश्व बढेपनि लक्ष भेटाउन नसकेको नगरपालिकाले गत आर्थिक वर्षमा भने लक्ष भन्दा बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले ३ करोड राजश्व संकलनको लक्ष लिएकामा नगरपालिकाल ३ करोड २४ लाख ३२ हजार १ सय ९१ रुपैयाँ संकलन गर्न सफल भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार यो कुल लक्षको ८ प्रतिशत बढी राजश्व संकलन हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ५६ लाख १४ हजार ५ सय ४६ राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा ५८ लाख २३ हजार २ सय ९५ राजश्व संकलन गरेको चौरजाहरीले आर्थिक वर्ष २०७६/०७७ मा २ करोड १३ लाख ३९ हजार ९ सय २२ रुपैयाँ राजश्व संकलन गरेको थियो ।
नगरपालिकाले सम्पती कर, मालपोत कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, व्यवसाय कर, विभिन्न सिफारिस तथा दस्तुर, नक्सा पास, एम्बुलेन्स शुल्क, नगर बस सेवा शुल्क लगायतबाट राजश्व संकलन गर्ने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।