रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका २ वडाका ८८ घरपरिवारले निःशुल्क सोलार प्राप्त गरेका छन् । ९ र १० नम्बर वडाका ८८ घरपरिवारलाई ८० वाटका सोलार प्रदान गरिएको हो । ९ र १० नम्बर वडाको पहलमा बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले सोलार दिएको हो । सोलार पाउनेमा ९ का ६१ र १० नम्बर वडाका २७ घर परिवार छन् ।
टाढा वस्ति भएका कारण विद्युतिकरण नभएका, आर्थिक रुपमा अति विपन्न भइ विद्युतिकरणका लागि हाउस वाइरिङ नगरेका र एक भन्दा दुई वस्ति घर भएकाहरुलाई सोलार दिइएको १० नम्बर वडा सदस्य धनबहादुर खड्का (वसन्त)ले जानकारी दिनुभयो । सोलारको हालको बजार मूल्य ३२ देखि ३५ हजार रुपैयाँ रहेको बताइएको छ ।
सोलार वितरण र जडानका लागि बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले सूचना आह्वान गरेको थियो । उक्त काम पावरटेक इन्डस्ट्रिज प्रालीले प्राप्त गरेको थियो । सबैको घरमा सोलार पुगिसकेको र अबको केही दिनमा जडान हुने वडा सदस्य वसन्तले बताउनुभयो । यसका लागि दुवै वडाले यस अघि नै आवश्यक कागजात र निर्णय पठाइसकेका थिए ।