Kakhara सबैको खबर सम्पूर्ण खबर
सडक सञ्जालबाट टाढै छन्, ११  वडा
झोलुंगे पुल निर्माणका लागि सामग्री बोकेरै लैजादै सिस्ने गाउँपालिका १ कि किशोरीहरु ।

रुकुम पूर्व जिल्लाका ११ वडा अहिले पनि सडक सञ्जालको पहुँचमा पुगेका छैनन् । यसैले जिल्लाका ३१ वडामध्य ११ वडाका सर्वसाधारणको दैनिकी फेरिन सकेको छैन । पूरानै शैली अपनाएर यी वडाका सर्वसाधारण जीवन चलाइरहेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाका ९ वडा सडक सञ्जालले नछोएका वडा हुन् । १ देखि ९ नम्बर मध्यका कुनै वडा सडक सञ्जालमा जोडिएका छैनन् । सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा सडक सञ्जाल भन्दा टाढा छन् । ३ स्थानीय तह रहेको यस जिल्लाको भूमे गाउँपालिकाका भने ९ वटै वडा सडक सञ्जालमा जोडिएका छन् । बाह्रैमास सडक नचलेपनि हिउँद चल्ने सवारी साधनले सर्वसाधारणलाई सजिलो भएको छ ।

सडक नपुगेका ठाउँको यातायातको विकल्प खच्चड हो । आर्थिक अवस्था बलियो भएकाहरुले खच्चड, घोडा र मान्छेलाई नै बोकाएर सामग्री ओसार्छन् । तर आम्दानीको स्रोत नभएका अधिकांश सर्वसाधारण भने आधारभुत रुपमा नभइ नहुने सरसामग्री ढुवानीका लागि आफै पिठ्यू प्रयोग गर्दै आएका छन् । यी सबै वडा बजार भन्दा टाढाका पर्छन् । सडक पुगेको ठाउँसम्म बजार बनेको छ । त्यही बजारबाट पनि यी ठाउँ टाढा पर्छन् । पुथाउत्तरगंगा गाउँपालिकाको २ नम्बर वडा बजारदेखि सबभन्दा टाढाको वडा पर्छ । गाउँपालिकाको केन्द्रलाई बजार मान्दा यो वडा पुग्न खाली खाली पनि दिनभर पैदल हिड्नुपर्छ । भारी बोकेर २ देखि ३ दिनका मात्रै यो वडाका वस्तिमा पुग्न सकिन्छ ।

सिस्ने गाउँपालिकाको १ नम्बर वडाको सिस्ने पनि बजारदेखि कस्सिएर हिड्दा पुगिन्छ । तर भारी बोकेर २ दिन नभइ यहाँ पुगिदैन । सबैतिर सडक पुगिसक्दा पनि आफ्नो ठाउँमा सडक नपुग्नु दुःखद भएको सिस्ने गाउँपालिका १, का दलजित बुढाले बताउनुभयो । आधारभुत आवश्यक्ता भइसकेको सडक विस्तरलाई तीन तहकै सरकारले पहिलो प्राथमिकता दिएर काम गर्नुपर्ने उहाँको भनाई छ । सडक निर्माणका लागि परेको बजेट समेत काम नभएर फ्रिज जाने तर आफूहरु गाउँबाटै गाडि चढ्न नपाउनु भनेको बिडम्बना भएको पुथाउत्तरगंगा गाउँपालिकाका रामबहादुर रोकाले बताउनुभयो । सडक नपुगेका ठाउँमा सडक निर्माणका लागि बजेट त पर्ने गरेको छ । तर त्यो बजेट सुरुवात विन्दुमै सकिने समस्या छ ।

पुथाउत्तरगंगाको १३ नम्बर वडाको खैरासम्म सडक पुगेको छ । त्यहाँबाट अघि सडक निर्माणको काम भइरहेको छ । ति क्षेत्रलाई जोड्नका लागि सहिद मार्ग सडक आयोजनाले काम गरिरहेको छ । अरु विभिन्न शीर्षकमा पनि उक्त ठाउँमा सडक जोड्न बजेट विनियोजन हुन्छ । तर त्यो बजेट सुरुवातमै सकिने गरेको छ । सिस्ने गाउँपालिकाका १ र २ मा सडक जान सानीभेरी नदिमा पुल बन्नै बाँकी छ । त्यसपछि मात्रै सडक पुग्ने सम्भावना छ । २ नम्बर वडाबाट सडक निर्माण थालिएको छ । त्यो निर्माण कार्य १ नम्बर वडासम्म पुग्न लामो समय लाग्ने देखिएको छ ।

सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढाले सिस्ने सम्मको सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ५ करोडको काम हुने बताउनुभयो । २ नम्बर वडाको सुर्दीदेखि अगाडि काम गर्नका लागि ठेक्का लागि सम्झौता समेत भइसकेको उपाध्यक्ष बुढाले बताउनुभयो । भौगोलिक कठिनाइका कारण भनेकै समयमा सडक अघि बढ्न नसकेको उहाँको भनाई छ । पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले गाउँपालिकाका ५ वडामा सडक पुगेको र ९ वडामा सडक पुर्याउने पहल भइरहेको बताउनुभयो ।

थोरै बजेटले धेरै काम गर्नुपर्ने, ठेक्का लिएको ठेकेदारहरुले समयै काम नगरिदिने तथा भूगोल अनुसारको बजेट नहुने हुनाले सबैतिर सडक सञ्जाल फैलन नसकेको अध्यक्ष घर्तीको भनाई छ । तर स्थानीय, प्रदेश र संघीय सरकार यसमा लागिरहेको घर्तीले बताउनुभयो । प्रतिनिधि सभा सदस्य कमला रोकाले विस्तार गाउँहरु सडक सञ्जालमा जोडिँदै गएको बताउनुभयो । काम भइरहेको छ, बजेट परिरहेको छ, रोकाले भन्नुभयो, भौगोलिक कठिनाइका बाबजुद भनेकै समयमा सडक नपुगेको हो तर सडक नै नपुग्ने भन्ने छैन ।

जिल्लाका बाँकी ११ वडामा सडक पुर्याउने सन्दर्भमा बजेट परिरहेको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन र ताकेता जरुरी रहेको सांसद रोकाको भनाई छ । पछिल्लो पटक पनि सांसद रोकाको नेतृत्वमा सहिद मार्गको निर्माणाधिन सडक अनुगमन गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका १३ देखि ६ नम्बर वडातर्फ बनाइँदै गरेको सडक निर्माणको कार्य सन्तोषजनक रहेको सांसद रोकाले बताउनुभयो ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update