Kakhara सबैको खबर सम्पूर्ण खबर
आगलागी पीडित सबैको घरमा टिनको छाना
नगद राहत प्रदान गर्दै वडाध्यक्ष चन्द्रबहादुर केसी ।

गत चैत २३ गते १४ वटा घरगोठ जले । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३, को सर्सुकाँडाका १२ घर र २ गोठ जलेका थिए । सामुदायिक वनमा लागेको आगो सर्सुकाँडा गाउँमा पस्दा १२ परिवारको घरमा रहेको सर्वस्व जल्यो । घरबाट कसैले पनि केही निकाल्न पाएनन् । सबै गाउँले आगो निभाउन एकातर्फ गएका बेला भएको आगालागीका कारण धेरै क्षेती हुन पुगेको स्थानीय समाजसेवी गणबहादुर बोहराले बताउनुभयो । आगो निभाउने भनेर गाउँले एकातर्फ लागेका बेला अर्कोपट्टिबाट आगो गाउँमा पसेको बोहराले बताउनुभयो । सोही आगोले १२ घर र २ गोठ पूर्ण रुपमा क्षेती गरेको थियो । त्यसपछि १२ वटै घरमा टिनको छाना लागेको छ । १२ मध्य एउटा घर पहिल्यै टिनको छानाको थियो । अरु सबै घर खरले छाएका थिए । 

क कसको घरमा टिनका छाना 
रेशम रावल, विरभान पौडेल, चन्द्रकला बोहरा, यज्ञबहादुर बोहरा, अमृत बुढाथोकी, विमला मल्ल, ठगु ओली, मनसरी सार्की, कमला विक, दत्तबहादुर विक, तुलबहादुर बोहरा, कालीबहादुर बोहराको घरमा टिनका छाना लागेको छ । गोठ जलेका लक्षिराम बुढाथोकी र सपना विकको परिवारलाई ५/५ हजार क्षेतीपूर्ति वापत दिइएको छ । जलेकामध्य आधा भन्दा बढी एक ठाउँमा मात्रै घरबास भएकाहरु हुन् । सबै जलेपछि समस्या भएको थियो । त्यसपछि वडा कार्यालयको पहलमा सबैको घरमा टिनको छाना हालियो भने गोठवालालाई नगद राहत दिइएको वडाध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । घरमा टिनका छाना राखेका सबै परिवारलाई १५/१५ हजार नगद पनि राहत दिइएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । वडाध्यक्ष केसीका अनुसार वडा कार्यालयले आगालगी हुन वित्तिकै सबैलाई आधारभुत आवश्यक्ताका सम्पूर्ण सामग्री प्रदान गरेको थियो । ४/४ बोरा चामल, ३/३ लिटर खाने तेल, २/२ पोका नुन, एक–एक सेट सिरस डसना, ४ वटा थाली, ४ वटा कचौरा, २ वटा अम्खोरा, एउटा तौवा, एक/एक वटा गाग्री, एक/एक वटा कराई, एक/एक वटा डाडु पन्यु, एक/एक वडा डिक्चे, एक/एक वटा डबरा लगायतका सामग्री वडा कार्यालयले दिएको थियो । 

विभिन्न निकायबाट आयो सहयोग 
घरका टिनका छाना फेर्नमा विभिन्न निकायबाट सहयोग प्राप्त भएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । वडा कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति र विभिन्न व्यक्तिगले व्यक्तिगत रुपमा नगद योगदान गरेपछि सबैको घरमा टिनका छाना राख्न सकिएको उहाँले बताउनुभयो । वडाको तर्फबाट गरिएको प्रतिबद्धता अनुसार सबैका घरमा टिनका छाना हाल्न सफल भएको वडाध्यक्ष केसीले बताउनुभयो । यसमा ६ घरका लागि जिल्ला प्रशासन कार्यालयले ६ घर परिवारका लागि एक÷एक लाख रुपैयाँ दिएको थियो भने देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिगले व्यक्तिगत रुपमा १ लाख ८३ हजार बढी नगद सहयोग गरेका थिए । यसमा वडा कार्यालयले ७ लाख रुपैयाँ विनियोजन गरेको छ । यसबाट वडाका अन्य विपन्न नागरिकको टिनका छाना पनि हटाउने योजना बनाइएको छ । आधारभुत सामग्री, टिनका छाना हालेर पनि केही नगद राहत दिन सकिएको वडाध्यक्ष केसीले बताउनुभयो । सबै घर जलेकाहरुलाई सामुदायिक वनबाट निःशुल्क काठको व्यवस्थापन गरिएको थियो । 

'हाँसेको देख्नुभयो नि' !
सबै घरमा पुन निर्माण भइसकेका छन् । सर्वसाधारण पूरानै दैनिकीमा फर्किसकेका छन् । पहिलो चरणका राहत सामग्री प्रदान गरी घर बनाइसकेपछि वडा कार्यालयले नगद राहत वितरणको कार्यक्रम बनाएको थियो । तर कोरोनाका कारण त्यो ढिला हुन गयो । विविध कारणले ढिलै राहत वितरण गर्न गएको टोलीसित स्थानीयले खुसी साटे । आफै खुसी भएको कुरा व्यक्त गरे । ‘पहिला वडाध्यज्युहरु आउँदा रोइरहेका थियौं, अहिले त हाँसेका छौं हेर्नुस्,’ पीडित परिवार मध्यकी एक वेलमती रावलले भन्नुभयो । घर र घरका सम्पूर्ण सामग्री जलेपछि ठूलो आपत आइलेपछि रुवाबासी भएको वस्ति छिटै पूरानै लयमा फर्किएको रावलले बताउनुभयो । अर्का पीडित विरभान पौडेलले सबैको सहयोगले घर बनेको र अरु राहत पनि पाएको बताउनुभयो । यसका लागि सहयोग गर्ने वडाध्यक्ष, स्थानीय समाजसेवी, विभिन्न व्यक्ति तथा सबैलाई उहाँले धन्यवाद दिनुभयो । सबैको पहलले पूरानै दैनिकीमा फर्किन सकेको पौडेलले बताउनुभयो । 

 


 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update