Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका तीन सरकारकाे बजेट खर्च प्रगति, कसको कति ??
पुथाउत्तरगंगा गाउँपालिकाको गाउँ सभामा सहभागिहरु ।

तीन दिन अघिदेखि नयाँ आर्थिक वर्ष २०७८/०७९ लागि सकेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा खर्च भएको बजेटको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने क्रम सुरु भइसकेको छ । कतिले सार्वजनिक गरिसकेका पनि छन् । रुकुम पूर्वमा तीन स्थानीय तह छन् । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका ।

तीन वटै स्थानीयले समयमै काम सकेर खातापाता बन्द गरेका छन् । दोस्रो भेरियन्टको कोरोना र त्यसबाट सिर्जित निषेधाज्ञाका कारण अपेक्षित बजेट खर्च हुन नसकेको स्थानीय सरकारले बताएका छन् । चाहेर पनि कोरोना महामारीका कारण बजेट खर्च हुन नसकेको भनाई उनिहरुको छ । सकेसम्म काम गर्दा, योजना कार्यान्वयन गर्दा पनि यत्तिको बजेट खर्च गर्न सकेका छन् । तीन वटै स्थानीय तहले फरक फरक प्रतिशतमा बजेट खर्च गरेका छन् । 

पुथाउत्तरगंगा गाउँपालिका
पुथाउत्तरगंगा गाउँपालिकाले ९३ दशमलव २ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकामा प्राप्त कुल बजेटको उक्त प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । चालु र पुँजिगत गरी ४७ करोड ९६ लाख ४ हजार रुपैयाँ बजेट प्राप्त भएकामा ४१ करोड ९३ लाख रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाका लेखापाल नवराज खड्काले जानकारी दिनुभयो । जसमध्ये ६ करोड ३ लाख ४ हजार रुपैयाँ खर्च हुन नसको खड्काले बताउनुभयो ।

गाउँपालिकामा प्राप्त बजेट मध्ये आन्तरिक राजस्व, संघीय र प्रदेश सरकार मार्फतको राजस्व बाँडफाँट वापतको बजेट लक्ष्य अनुसारको प्राप्त हुन सकेन । साथै सशर्त, विशेष र समपूरक अनुदान तर्फको बजेट खर्च न्युन भएको गाउँपालिकाले जनाएको छ । चालुतर्फ ३१ करोड ५५ लाख ८६ हजारमा २६ करोड ४१ लाख ५९ हजार रुपैयाँ खर्च भएको छ भने पुँजिगत तर्फ १६ करोड ४० लाख १८ हजारमा १५ करोड ५१ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ । 

सिस्ने गाउँपालिका
यस गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा ८४ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकामा चालु र पुँजिगत गरी ५७ करोड ९७ लाख ९० हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । जसमध्येमा चालु र पुँजीगत गरी कुल ४८ करोड ६७ लाख २९ हजार रुपैयाँ बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । जसमध्ये ९ करोड ३० लाख ६१ हजार रुपैयाँ गाउँपालिकाले खर्च गर्न सकेन । चालुतर्फ ३६ करोड ६२ लाखमा २९ करोड १६ लाख ३३ हजार अर्थात ८७ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी पुँजिगत तर्फ २४ करोड ३५ लाख ८६ हजारमा १९ करोड ५० लाख ९६ हजार अर्थात ८० प्रतिशत खर्च भएको छ ।  

भूमे गाउँपालिका
यस गाउँपालिकाले ७७ दशमलव ६६ प्रतिशत बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा भूमेको स्वीकृत वार्षिक विकास कार्यक्रमका लागि गाउँसभाबाट आन्तरिक राजस्व, राजस्व बाँडफाँड, गत आर्थिक वर्षको मौज्दात, संघ र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र आन्तरिक ऋण समेतको स्रोतबाट व्यहोर्ने गरी ५६ करोड ९७ लाख ७ हजार ५ सय ५५ रुपैयाँ बजेट पारीत भएको थियो । 

जसमध्ये चालूतर्फ ३१ करोड ७७ लाख ३० हजार ५ सय ५५ मध्य २५ करोड ८६ लाख २२ हजार ४ सय ५५ रुपैयाँ ४१ पैसा अर्थात ८१ दशमलव ४ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । पुँजिगततर्फ २५ करोड १९ लाख ७७ हजार मध्य १८ करोड ३७ लाख १ सय ३८ रुपैयाँ अर्थात ७२ दशमलव ९५ प्रतिशत वित्तीय खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो ।

तुलनात्मक रुपमा वित्तीय खर्च प्रतिशत कम देखिनुमा राजस्व बाँडफाँट र आन्तरिक आय अनुमानतर्फ आम्दानी प्राप्त नहुनु, सशर्त अनुदानतर्फ थप भएका रकम सबै खर्च नहुनु, थबाङखोला जलविद्युत आयोजनाको भौतिक कार्य सुरु नहुनु र सिलबन्दी बोलपत्र तथा दरभाउपत्रबाट खरिद गर्दा घटाघट हुँदा रकम बच्नु र तालिम तथा गोष्ठी सम्बन्धी कार्यक्रमहरु तेस्रो चौमासिक अवधिमा खर्च हुन नसक्नु मुख्य कारण रहेको श्रेष्ठले बताउनुभयो ।  


 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update