रुकुम पूर्वमा कोरोना विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ । कोभिड खोप समन्वय समितिको निर्णय अनुसार खोपको उपलब्धता र आवस्यकताको आधारमा हिमाली जिल्ला भएकोले ५० वर्ष पुगेका सबै यस अघि खोप नलगाएका नागरिक,शिक्षक,गाडी चालक, सह चालकलाई यो खोप लगाउन सुरु गरिएको हो ।
यस अघि खोपबाट छुटेका अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरुलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउन सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साउनका ३ र ४ गते स्वास्थ्य कार्यालय रुकुमकोट ५ र ६ गते सिस्ने गाउँपालिकाका सबै स्वास्थ्य संस्था, ६ र ७ गते भूमे गाउँपालिकाका सबै स्वास्थ्य संस्था तथा ७ र ८ गते पुथाउत्तरगंगा गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा खोप लगाउने कार्यतालिका बनाइएको छ । यस पटक जिल्लामा ३ हजार डोज खोप आइपुगेको छ ।