अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा लुम्बिनी गौतम चयन हुनु भएको छ । सञ्जालको भेलाले गौतमको नेतृत्वमा नयाँ सञ्जाल गठन गरेको हो । नेतृ गौतम नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सदस्य तथा रुकुम पश्चिमको इन्चार्ज हुनुहुन्छ ।
जिल्लामा क्रियाशिल राजनीतिक दल सम्बद्ध महिला संगठनले पालैपाले यस सञ्जालको नेतृत्व गर्ने गर्दछन् । सोही अनुसार एक कार्यकालका लागि गौतमले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभएको हो । हिंसामा परेका, समस्यामा परेका महिलाको सहयोगका लागि सकेको पहल र प्रयास गर्ने अध्यक्ष गौतमले बताउनुभयो ।
सञ्जालको उपाध्यक्षमा नेपाली कांग्रेस निकट महिला संघकी सीता ओली, सचिवमा नेकपा एमाले निकट अनेमसंघ निकट व्युझना पुन देवकोटा, कोषाध्यक्षमा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीकी शुशिला केसी चयन भएका छन् । सदस्यमा कल्याणी खिड्का, योगमाया खड्का, निर्मला गिरी, डण्डी कार्की, यमकुमारी परियार, निर्मला रसाइली, हिरा केसी, निर्मला विक, चिना विक र भावना शर्मा चयन भएका छन् ।