सुरुदेखि हालसम्म रुकुम पश्चिमका साढे २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ६ स्थानीय तहका २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ५० कटेको हो । पछिल्लो पटक चौरजहारी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकामध्य हालसम्म २ सय ३२ जनाले कोरोना जितिसकेका छन् । हाल २० जना सक्रिय संक्रमित छन् । १ जनाको मृत्यु भएको छ ।
हालसम्म जिल्लाका १० हजार ४ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग फोलक पर्सन इश्वर रावलले साढे दश हजार परीक्षणका क्रममा साढे २ सय जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो संख्या कोरोना महामारी सुरुभएदेखि हालसम्मकै हो । सक्रिय संक्रमितमध्य चौरजहारी नगरपालिकामा १७ जना छन् भने सानीभेरी गाउँपालिकामा ३ जना रहेका छन् । त्यसमध्य केही होम आइसोलेशनमा छन् भने केही स्थानीय सरकारको आइसोलेशनमा बसेका छन् ।
लामो समयपछि पछिल्लो पटक १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन अघि चौरजहारी नगरपालिकामा ६ र २ दिन अघि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्रयाक ट्रेसिङ, शंकास्पद ठाउँबाट आएका तथा अरु मापदण्ड मिलेका आधारमा पिसिआर परीक्षण गरिएको थियो । यस अघि कोरोना संक्रमण पुष्टि भएकी त्रिवेणि गाउँपालिकाकी एक महिलाको मृत्यु भएको थियो । यस जिल्लामा खास गरी लक्षण भएका संक्रमितको संख्या न्युन छ । केही बाहेक अधिकांश संक्रमितलाई कुनै पनि स्वास्थ्य समस्या आएन ।
कोरोना परीक्षण गरेका आधारमा सबभन्दा बढी चौरजहारी नगरपालिकामा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म चौरजहारी नगरपालिकाले २ हजार ५ सय ३९ जनाको स्वाव परीक्षण गरेको छ । १ हजार ८ सय ५९ जनाको स्वाव परीक्षण गरेको मुसीकोट नगरपालिकाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १ हजार ३ सय ४७ जनाको स्वाव परीक्षण गरेको सानीभेरी गाउँपालिकाका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
१ हजार ६ सय ९१ जनाको स्वाव परीक्षण गरेको आठबीसकोट नगरपालिकाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १ हजार ६ सय ४४ जनाको स्वाव परीक्षण गरेको त्रिवेणि गाउँपालिकाका १८, ३ सय ८७ स्वाव परीक्षण गरेको जिल्ला अस्पताल लगायत अन्य निकायबाट भएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ९ सय ८४ जनाको स्वाव परीक्षण गरेको बाँफिकोट गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।