कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । रुकुम पश्चिममा गत वैशाख १९ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । पछिल्लो दुई हप्तादेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएपछि सरकारी कार्यालय पनि खुलेका छन् । तर कार्यालय सबै दिन सबैलाई सेवा दिइरहेका भने छैनन् ।
बार अनुसार स्थानीय तह तोकेर सेवा प्रवाह गरिरहेका छन् । भिडभाड नहोस्, कोरोना संक्रमण नफैलियोस भनेर कार्यालयले बार तोकेर सेवा प्रवाह गरिरहेका हुन् । लामो समयपछि सेवा प्रवाह थालेको मालपोत कार्यालयले बार अनुसार सेवा प्रवाह गरिरहेको छ । हप्ताका ६ बार ६ वटा स्थानीय तहलाई तोकेको छ ।
एउटा बार एक स्थानीय तहको मात्रै काम भइरहेको मालपोत कार्यालयले जनाएको छ । आइतबार चौरजहारी नगरपालिका, सोमबार आठबीसकोट नगरपालिका, मंगलबार सानीभेरी गाउँपालिका, बुधबार त्रिवेणि गाउँपालिका, विहीबार बाँफिकोट गाउँपालिका र शुक्रबार मुसीकोट नगरपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह भइरहेको निमित्त मालपोत अधिकृत गोर्खबहादुर खड्काले जानकारी दिनुभयो ।
साउन १ गतेदेखि यसरी नै सेवा प्रवाह भइरहेको खड्काले बताउनुभयो । असार ३१ गते बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र डिसिएमसीको बैठकको अनुसार बार तोकेर सेवा प्रवाह गरिरहेको खड्काले बताउनुभयो । अब अर्को सूचना नभएसम्म यही तालिका अनुसार काम हुने उहाँले जानकारी दिनुभयो । साेही बैठककाे निर्णयानुसार साउन ८ गते सम्म निषेधाज्ञा जारी छ ।