रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले झण्डै ८६ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकामा प्राप्त कुल बजेटको ८५ दशमलव ९३ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । उक्त आर्थिक वर्ष गाउँपालिकामा ४८ करोड ३२ लाख ५० हजार ४ सय ५० रुपैयाँ बजेट प्राप्त भएकामा ४१ करोड ५२ लाख ६७ हजार २ सय ६७ रुपैयाँ २० पैसा बजेट खर्च भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिङ विष्टले चालुतर्फ ९१ दशमलव ५ र पुँजिगततर्फ ७४ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । विष्टका अनुसार चालुतर्फको ३४ करोड १० लाख ४० हजार ४ सय ५० बजेटमध्य ३१ करोड ४ लाख ७७ हजार ७ सय १७ रुपैयाँ २० पैसा बजेट खर्च भएको छ ।
पुँजिगततर्फ प्राप्त भएको १३ करोड ७२ लाख १० हजार बजेटमध्य १० करोड २७ लाख ४ हजार ४ सय ५० रुपैयाँ बजेट खर्च हुन सकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिनुभयो । वित्तियतर्फको ५० लाख बजेटमा २० लाख ८५ हजार रुपैयाँ मात्रै खर्च भएको छ । गाउँपालिकामा संघ र प्रदेश सरकारबाट आउनुपर्ने जति राजश्व बाँडफाँडतर्फको बजेट प्राप्त हुन सकेन ।