Kakhara सबैको खबर सम्पूर्ण खबर
इन्जिनियरको जागिर गयो, लेखापाललाई कारबाहीको सिफारिस

रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यपालिकाले करारमा कार्यरत इन्जिनियरलाई बर्खास्त गरेको छ । जनउत्तरदायी काम नगरेको भन्दै कार्यपालिका बैठकले इन्जिनियर रमेश साहको सेवा अवधि नथप्ने निर्णय गरेको हो । अब उनको ठाउँमा अर्को इन्जिनियर भर्नाका लागि विज्ञापन गर्ने निर्णय समेत गरेको छ । बैठकले लेखापाल केशवप्रसाद ओलीलाई कारबाहीको सिफारिस गरेको छ । कार्यपालिकाले कोष तथा लेखा नियन्त्रण कार्यालय समक्ष लेखापाल ओलीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

काम भइसकेर पनि भुक्तानीका लागि तयार रहेको फाइल उपर कारबाही नगरी बजेट फ्रिज गराएको आरोप लगाएर लेखापालाई कारबाहीको कोलेनिकामा सिफारिस गरिएको कार्यपालिका प्रवक्ता मनबहादुर केसीले जानकारी दिनुभयो । बैठकले रोजगार संयोजक समिर गौतम र प्राविधिक शाखाका अरु प्राविधिकलाई पनि स्पस्टिकरण सोध्ने निर्णय गरेको छ  ।

हरेक योजनाका एक भन्दा बढी डिजाइन स्टामेट र मूल्याकन गरेर भएको काम भन्दा पनि कम भुक्तानी गराएपछि उपभोक्ता समिति तथा काम गरेकाहरु मारमा परेको निष्कर्ष बैठकले निकालेको छ । लेखापालले चेक नकाटेका कारण एक करोड रकम फ्रिज भएको निष्कर्ष कार्यपालिकाले निकालेको छ ।

यस अघि नै निर्माण भएका १, ३ र ८ नम्बर वडाको स्वास्थ्य भवन निर्माणको रकम जानाजान भुक्तानी नगरेको, अरु योजनाका पनि फाइल तयार भइसक्दा समेत चेक नकाटेर बजेट फ्रिज गएको निष्कर्षमा पुगिएको प्रवक्ता केसीले बताउनुभयो । राजश्व बाँडफाँड तर्फको १ करोड ३० लाख बजेट प्राप्त नभएपछि पनि समस्या भएको गाउँपालिकाले जनाएको छ । यो सबै बजेट अब चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भुक्तानी दिने गरी कार्यपालिकाले निर्णय गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update