Kakhara सबैको खबर सम्पूर्ण खबर
चले लामो दुरीका सवारी पनि

लामो दुरीका सवारी साधन पनि चलेका छन् । बुधबारदेखि रुकुम पश्चिमबाट जिल्ला बाहिर जान थालेका छन् भने जिल्ला बाहिरबाट पनि सवारी साधन भित्रिन थालेका छन् । झण्डै ४ महिनादेखि रोकिएका  सवारीका साधन विना पास सञ्चालन भएका हुन् । अनुमति लिएर यस अघि फाट्टफुट्ट चलेका सवारीका साधन बुधबारबाट भने विना पास सञ्चालनमा आएका छन् ।

रुकुम पश्चिमबाट दाङ, नेपालगञ्ज, काठमाण्डौं गाडि छुटे भने बाहिरबाट पनि विना कुनै पास गाडि जिल्ला भित्रिएका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गृह मन्त्रालयको निर्देशन अनुसार लामो दुरीका सवारीका साधनलाई पनि सञ्चालनको अनुमति दिइएको जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर गाडि चलाउन भनिएको प्रजिअ गैह्रेले बताउनुभयो ।

केही दिन अघि नै जिल्ला भित्र पनि सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको थियो । जिल्ला बाहिर भने गन्तव्य स्थलको जिल्लाको समन्वयमा मात्रै सवारीका साधन पठाउने गरिएको थियो । रुकुम पश्चिममा साउन ८ गते राति १२ बजेसम्म निषेधाज्ञा कायमै छ । लामो दुरीका पनि सवारी सञ्चालनमा आएपछि यात्रुलाई भने सजिलो भएको छ ।

नियमित गाडि सञ्चालन भएपछि यात्रा गर्न सजिलो हुने र भाडा पनि सस्तो पर्ने भएकाले यात्रु खुसी छन् । यातायात व्यवसायी डेविट गौतमले पूरानो नभइ बढेको भाडामा टिकट काटिरहेको जानकारी दिनुभयो । पूरानो भाडामा सरकारले बढाएको २८ प्रतिशत भाडा थप गरेर टिकट दिइरहेको गौतमले बताउनुभयो । यस अघि फाट्टफुट्ट चल्ने गाडिमा टिकट काट्ने गरिएको थिएन । 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update