Kakhara सबैको खबर सम्पूर्ण खबर
ढाँरेगैरा सधैंको तगारो (फोटो फिचर)

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका रामबहादुर ओलीलाई कहिले बिना अवरोध रुकुम पश्चिमबाट सररर.. दाङ जान पाईएला भन्ने लागेको छ । जहिले पनि यात्रामा अवरोध भइरहने हुँदा उहाँलाई दिक्क लाग्छ । उहाँलाई मात्र होईन राप्ती राजमार्ग भएर दाङ सहित विभिन्न जिल्लामा जानुपर्ने रुकुम पश्चिम र रुकुम पूर्वका सबैलाई यस्तै लाग्छ । बर्खा लाग्यो कि कहाँनेर रोकिनुपर्ने हो भन्ने पिरले यात्रुहरुलाई पिरोल्छ । 

घरबाट त हिडियो अव गन्तव्यमा पुग्न कति समय लाग्ने हो कसैले भन्न सक्ने अवस्था छैन् । बर्खामा पहिरो खस्नु, खोलानाला बढ्नु त सामान्य नै हो । कहिले काँहि भारी वर्षापछि बढेका खोलानाला र झरेका पहिरोले बाटो छेक्नु त बर्खामा सामान्य हो । तर राप्ती राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षौ देखि धेरै ठाउँमा सास्ती भोग्दै आएका छन् । त्यसमध्येको एक हो रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नं. ६ को ढाँरेगैरा ।

यो ठाउँ राप्ती राजमार्गका लागि बर्षौदेखि तकारो बनिरहेको छ । वर्षेनि लगातार भासिदै गएको जमिनका कारण सडक धेरै तल झरिसकेको छ । एक वर्ष झरेको सडकलाई अर्कोपटक अलि माथिको जमिन च्यापेर माथि तानिन्छ । फेरि अर्को वर्ष उस्तै । सामान्य वर्षा हुँदा पनि गाडि चढ्न सक्दैनन् । दैनिक घण्टौं जामको सामना गर्नुपर्छ यात्रुहरुले । कतिबेला कुन गाडि फस्ने हो र दिनभर जाम लाग्ने हो भन्ने ठेगान हुदैन् । 

घण्टौं सम्म सडक अवरुद्ध हुँदा वारीपारी झण्डै १, २ किलोमिटरसम्म पनि जाम हुने गरेको छ । सवारी चाप बढ्दा पछिल्ला वर्षहरुमा यो राजमार्गको व्यस्तता बढ्को छ । एक त साँघुरो बाटो त्यसमा घण्टौंसम्म गाडि फस्दा जाममा बस्नुको कुनै विकल्प नै छैन् । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरु बढी मारमा परेका छन् । 

बिकल्पको खोजि 
वर्षौ देखि तकारो बनिरहेको ढाँरेगैरामा विकल्पको खोजि नगरिएको भने होइन् । सुरुमा मर्मत गर्दै चलाउदै र फसेका गाडिलाई स्काभेटर प्रयोग गरेर निकाल्ने गरिएकामा केहि वर्ष देखि भने बिकल्पको चर्चा भइरहेको छ । २०७६ मा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय लगायतको पहलमा नयाँ सडक निर्माण गर्ने भनियो । त्यसका लागि अहिले सडक भएको ठाउँभन्दा केहि माथि डाँडाबाट सडक खन्नेगरी तयारी गरिएको थियो । 

भौगोलिक अवस्था हेर्नुका साथै जग्गा धनीहरुसंग पनि सहमति भइसकेको थियो । जग्गा धनीले अहिले सडक राख्ने दिने र मुआब्जाका लागि सरोकारवाला निकायले पहल गर्ने सहमति बनेको थियो । तर त्यसपछि भने यो कुरा सेलायो । बरु साविककै सडकलाई केहि मर्मत गरियो र संचालन गरियो । २ वर्षसम्म सेलाएको वैकल्पिक सडक निर्माणको विषय फेरि उठेको छ । 

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रब झाँ यसअघि बर्खा लाग्दा कुरा अघि बढ्ने र अरुबेला सेलाउने गरेकामा यो वर्ष त्यसो नहुने बताउनुहन्छ । ‘यसअघि पनि बैकल्पिक सडक निर्माण गर्ने विषयमा छलफल भएको रैछ, के कारणले हो अहिलेसम्म बन्न सकेको रैनछ, उहाँले भन्नुभयो–अब भने तत्कालै सडक निर्माण सुरु हुन्छ ।’ करिब डेढ किलोमिटर नयाँ सडक निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । 

त्रिवेणि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले पनि बिग्रिरहने सकडको बिकल्पको खोजि भइरहेको बताउनुभयो । अहिले भएको भन्दा २५–३० मिटर माथिबाट नयाँ ट्रयाक खोल्ने गरी तयारी भइरहेको उहाँको भनाई छ । सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयसंग यसबारेमा छलफल गरिरहेको अध्यक्ष घर्तीले बताउनुभयो । पानीट्यांकीबाट झुल्नेटा बजार निस्किने गरी नयाँ ट्रयाक खोल्ने गरी तयारी भइरहेको उहाँ बताउनुहुन्छ । 


 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update