रुकुम पश्चिममा निषेधाज्ञा पुनः थप गरिएको छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा साउन ८ गते अर्थात भोली राती १२ बजे सकिनै लाग्दा आज जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा साउन २३ गते राती १२ बजेसम्म थप गरेको हो । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीएमसी) को सिफारिस समेतका आधारमा खुकुलो पारेर निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
अव जिल्लामा शैक्षिक संस्था र मेला महोत्सव वाहेक सबै क्षेत्र खुलेका छन् । तर बिद्यालय स्तरका परीक्षा भने संचालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ । सबै प्रकारका सभा, सम्मेलन, भौतिक उपस्थितिमा हुने सिकाईका क्रियाकलापहरु, पुस्तकालय, संग्राहलय, मनोरञ्जन स्थल, समुहमा खेलिने सबै प्रकारका खेलकुद अझैपनि बन्द रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बजार, ब्यापार, व्यवशाय, सार्वजनिक तथा नीजि यातायात, बैंक तथा वित्तिय संस्था, सरकारी तथा सार्वजनिक सेवाका कार्यालय लगायत भने यसअघि नै संचालनमा आइसकेका छन् । कोरोनाको जोखिम अझै पनि कायम रहेकाले सतकर्ता अपाउन आग्रह गरिएको छ । जिल्लामा दोस्रो भेरियन्टको संक्रमण फैलिएपछि हालसम्म ७ हजार ६ सय ९० जनाको परीक्षण गर्दा २ हजार ५ सय ८२ जनामा संक्रमण देखिएको छ ।
जसमा ३३ जनाको मृत्यु भएको छ । अहिले कुल ८३ जना सक्रिय संक्रमित रहेकामा २ जना मात्र स्थानीय तहका आईसोलेसनमा छन् भने ८१ जना होम आईसोलेसनमा रहेका छन् ।