रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यु–२३ टोलीले १० खेलाडीमा समेटिएको जर्मनीको यु–२३ टोलीमाथि ४–२ को जित हात पारेको हो ।
एक गोल पाउलिन्होले थप्दा जर्मनीका नादिम एमिरी र राग्नर एचेले गोल गरेपनि टोलीको हार टार्न सकेन । निशान स्टेडियम योकोहामामा बिहीबार भएको खेलमा रिचार्लीसनले खेलको ३० मिनेटभित्र नै ह्याट्रिक पुरा गरेका थिए । सातौ मिनेटमा पहिलो गोल गरेको रिचार्लीसनले २२औं मिनेटमा दोस्रो तथा ३०औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा म्याथेअस कुन्हाले पेनाल्टी चुकाउँदा ब्राजिलले थप अग्रता लिन सकेन । पहिलो हाफमै ३–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा सम्हालिएको खेल पस्कदै दुई गोल गरेपनि हार टार्न सकेन । ५७औं मिनेटमा नादिम एमिरीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
६३औं मिनेटमा म्याक्सिमिलियन अर्नाेल्ड दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि जर्मनी समस्यामा परेको थियो । तर, पनि जर्मनीले ब्राजिललाई दवाव बढाइरहेको थियो । ८३औं मिनेटमा राग्नर एचेले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । तर, इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ को सहज जित दिलाए ।
जितपछि ब्राजिल समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जर्मनी तेस्रो स्थानमा छ । ३ अंक नै रहेको आइभोरीकोस्ट गोल अन्तरमा दोस्रो तथा साउदी अरेबिया पुछारमा छ । बिहीबार नै आइभोरी कोस्टले साउदीलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।