रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमाको सेवा दिने भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले १ सय ५० अति विपन्न परिवारको न्युनतम १ लाख बराबरको स्वास्थ्य बीमा गरिदिन लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अति विपन्नलाई न्युनतम १ लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिदिने उल्लेख छ । ५ जनासम्म सदस्य भएका परिवारलाई १ लाख र त्यो भन्दा माथि भएमा सदस्य संख्याका आधारमा बीमा रकम थप हुने गाउँपालिकाका स्वास्थ्य सह–संयोजक बिरवहादुर डाँगीले जानकारी दिनुभयो ।
गाउँपालिकाले वितेको आर्थिक वर्ष २०७७/०७८ देखि अति विपन्न घर परिवारका लागि निःशुल्क बीमाको अवधारणा ल्याएको हो । वितेको आर्थिक वर्षमा ८० परिवारले यो सेवा पाएका थिए । स्वास्थ्य सह संयोजक डाँगीका अनुसार १० वडाबाट ८÷८ परिवारका दरले ८० परिवारले बीमाको सेवा पाएका थिए । यो वर्ष भने त्यसलाई बढाएर १ सय ५० पुर्याईएको छ । अहिले भने वडाका लागि कोटा तोकिएको छैन् । वडाले तोकिएको मापदण्ड अनुसार घर परिवार सिफारिस गर्ने र त्यसमा गाउँपालिकाले आवश्यक मुल्यांकन गरेर घर परिवार छनौट गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो ।
सबै नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा पुर्याउनका लागि निःशुल्क स्वास्थ्य बीमाको अवधारणा ल्याईएको उहाँले बताउनुभयो । ‘सबै नागरिकले स्वास्थ्य सेवा पाउन भन्ने हाम्रो लक्ष छ, आर्थिक अभावका कारण धेरै नागरिकहरुले स्वास्थ्य सेवा पाउन सकेका छैनन्, उहाँले भन्नुभयो–आर्थिक अभावका कारण सामान्य रोगबाट पनि ज्यान गुमाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न यो कार्यक्रम ल्याईएको हो ।’ गत वर्ष सेवा पाएका नागरिकलाई यो वर्ष सेवाका लागि अनिवार्य गरिएको छैन् । वडाबाट सिफारिस भएर आएमा दिने र नत्र भने नदिने निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले बताउनुभयो । स्वास्थ्य बीमाका लागि ३ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।