रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले शिक्षा संयोजकको काम गर्ने गरी रत्नबहादुर केसीलाई तोकेको छ । बीरेन्द्र माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रहनु भएका केसीलाई शिक्षा संयोजकको समेत जिम्मेवारी दिइएको हो । साउन ५ गतेको कार्यपालिका बैठकले शाखाको कामकाजलाई व्यवस्थित बनाउन भन्दै केसीलाई संयोजक तोकेको हो ।
यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले नै शिक्षा शाखाको काम गर्दै आउनुभएको थियो । खड्का प्रशासन तथा अरु समग्र कामकाजमा व्यस्त हुनुपर्ने भएकाले शिक्षा संयोजकमा केसीलाई तोकिएको कार्यपालिकाले जनाएको छ । बैठकले गाउँ शिक्षा समितिमा सदस्य पनि थप गरेको छ । अभिभावकको तर्फबाट जयबहादुर मल्ल, शिक्षकबाट चुमानसिङ बोहरा र दलबहादुर कुसारीलाई शिक्षा समितिको सदस्यमा मनोनित गरिएको छ ।
यस अघिका सदस्य हिरालाल कुसारी र गोविन्द मल्लको पदावधी सकिएपछि नयाँ शिक्षक प्रतिनिधिका रुपमा २ शिक्षकलाई समितिको सदस्यमा मनोनित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो । लोक सेवा आयोगमा शिक्षाका कर्मचारी माग गरिए सकिएकाले कर्मचारी नआउँदा सम्म काम चलाउने गरी केसीलाई शिक्षा संयोजकको काम गर्ने गरी जिम्मेवारी तोकिएको खड्काले बताउनुभयो ।