जिल्ला अस्पताल रुकुम पूर्वमा डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएको छ । झण्डै दुई वर्ष सञ्चालन हुन नसकेको उक्त मेशिन महिनादिन अघिबाट सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पताभित्र सिस्ने गाउँपालिकाले भवन निर्माण गरिदएपछि उक्त मेशिन सञ्चालनमा आएको हो ।
यस अघि अस्पतालभित्र भएका भवन उक्त मेशिन जडानका लागि उपयुक्त थिएनन् । उपयुक्त भवन नभएपछि एक्सरे मेशिन लामो समय थन्किएको थियो । पछिल्लो समय भने मेशिनले नियमित काम गरिरहेको अस्पतालका डाक्टर पूर्णबहादुर पुनले जानकारी दिनुभयो । एक्सरे मेशिन सञ्चालनमा आएपछि विरामीहरुका लागि सजिलो भएको डाक्टर पुनले बताउनुभयो ।
सिस्ने गाउँपालिकाले ४९ लाख बजेट खर्चिएर उक्त दुई तल भवन निर्माण गरेको थियो । दुई आर्थिक वर्षमा गरी सिस्ने गाउँपालिकाले ३५ लाख र प्रतिनिधि सभा सदस्य कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १४ लाख रुपैयाँमा उक्त भवन बनेको थियो । भवन अभावमा एक्सरे मेशिन थन्किएपछि त्यसका सञ्चालनका लागि उक्त भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । उक्त भवनको माथिल्लो तलामा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था गरिएको थियो ।