Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षकलाई प्राथमिकताका साथ खोप दिन शिक्षक संगठनको माग

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति रुकुम पश्चिमको बैठक बसेको छ । मुसीकोट नगरपालिका १३ को, महेन्द्र माध्यामिक विद्यालयमा बसेको बैठकले जिल्ला स्थित सम्पूर्ण शिक्षकहरुलाई कोरोना महामारी विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको छ ।

विद्यालय सञ्चालन गर्नुपर्ने, हरेक दिन विद्यार्थीको भिडभाडमा जानुपर्ने भएकाले विद्यार्थी तथा शिक्षकको सुरक्षाका लागि पनि पहिलो प्राथमिकतामा शिक्षकलाई खोप लाउनुपर्ने माग बैठकले गरेको छ । लामो समय विद्यालय बन्द रहेकोप्रति सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदै संगठनले विद्यालय सञ्चालनका लागि पनि शिक्षकलाई खोप अनिवार्य गर्नुपर्ने बताएको छ ।

साथै संगठनका पालिका स्तरीय बैठक गर्ने, संगठन विस्तार गर्ने निर्णय पनि भएको अध्यक्ष शशिराम विकले जानकारी दिनुभयो । यसैगरी शिक्षकको दुर्गम भत्ता, मर्यादाक्रम, तलवमानमा गरिएको विभेदको विरुद्धमा नेपाल शिक्षक महासंघसँगै मिलेर आन्दोलन गर्ने, स्थानीय सरकार, जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई, प्रदेश संघीय सरकारमा हुने आन्दोलनमा सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको अध्यक्ष विकले बताउनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम सह इन्चार्ज वसन्तकुमार शर्मा कुशल, कर्णाली प्रदेश सदस्य महेन्द्र केसी पारसमणि शिक्षक संगठनका जिल्ला इन्चार्ज तथा नेपाल शिक्षक महासंघका कर्णाली प्रदेशका महासचिव शेरविर दाहालको उपस्थिति रहेको थियो । उहाँहरुले वर्तमाण अवस्थाको साथै यसमा शिक्षकको भूमिकाको विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update