Kakhara सबैको खबर सम्पूर्ण खबर
बिग्रदो हालतमा बाल मन्दिर !
बाल मन्दिर र यसको प्राङ्गन ।

बाल मन्दिर । औपचारीक सिकाई सिकाउने पहिलो थलो । आमाको काखपछि पहिलो शिक्षारम्भ गर्ने मन्दिर । बालबालिकाको मन्दिर । शिक्षाको पवित्र मन्दिर । बाल मन्दिरको पवित्र उद्देश्य यही हो । सरकारले हरेक जिल्लामा बाल मन्दिर बनाएको छ । त्यसको उपयोग यसैगरी भएको छ । तर रुकुम पश्चिमको बाल मिन्दरको हाल भने बेहाल छ । जिल्ला सदरमुकाम खलंगा बजारको मुख्य ठाउँमा रहेको बाल मन्दिरको विजोग छ ।

वरपरीका घर ठूला बने, राम्रा पनि छन् । बाल मन्दिर क्रस गरेर जाने सडक पनि सफाचट छन् । त्यसलाई अँझै सफा गर्ने काम भइरहेको छ । तर बाल मन्दिर भने दिनका दिन विजोग हुँदै छ । भवन जिर्ण बन्दै छ । बाल मन्दिरले बजारको शोभा बढाउनुपर्ने हो तर यसले झन शोभा घटाउँदै लगेको चर्चा चल्न थालेको पनि धेरै भइसक्यो । एक समय थियो । जिल्लामा सबभन्दा ठूलो हल बाल मन्दिरकै । हरेक दिन बाल मन्दिर हलमा कार्यक्रम ।

बाल मन्दिरको हलमा कार्यक्रम गर्न दिन कुर्नूपर्ने । बाल मन्दिर प्राङ्गनमा पनि कुनै दिन कार्यक्रम नछुट्ने । सरकारीदेखि गैरसकारी संघ,संस्था, राजनीतिक दल तथा तिनका भातृ संगठनका कार्यक्रम भैरहने । बाल मन्दिरको हल तथा प्रा¨नमा समेत विहानदेखि बेलुकीसम्म भाषणबाजीदेखि सा“स्कृतिक कार्यक्रम कहिल्यै छुटेनन् । तर त्यो अवस्था सकिएकाले लामो समय भइसक्यो । कहिलेकाँही कार्यक्रममा बजेट नहुने, खर्च गर्न नसक्नेले हल प्रयोग गर्छन् ।

फाट्टफुट्ट प्राङ्गनमा कार्यक्रम हुन्छन् । हरेक दिन हल खचाखच तथा प्राङ्गन भरिभराउ हुने बाल मन्दिर पछिल्लो समय सुनसान छ । सुनसान मात्रै होइन कुरुप बन्दै गएको छ । न हलका ढोका राम्रा छन्, न प्राङ्गन कार्यक्रम गर्न लायकको छ । एक हजार सात सय बर्ग मिटर क्षेत्रफलमा फैलिएको बाल मन्दिरमा ४ भवन छन् । सबै भवन कामविहीन छन् । भवन जिर्ण बन्दै गएका छन् । पानी चुहिने, यत्रतत्र दिसापिसाव देखिन्छ ।

बालबालिकालाई शिक्षा, दिक्षा दिने असल नागरिक बनाउने उद्देश्लयले बाल मन्दिर स्थापना गरिएको थियो । नेपाल बाल संगठनले २०३४ सालमा जिल्लामा बाल मन्दिर स्थापना गरेको थियो । बाल मन्दिरमा बालबालिका पढाइन्थ्यो । १ देखि ५ कक्षा सम्मका बालबालिका बाल मन्दिर विद्यालयमा पढ्थे । भवन जिर्ण, कक्षा कोठा असजिलो बनेपछि हाल बाल मन्दिर विद्यालय नाममा मात्रै सीमित छ । तीन वर्ष अघि त्यस विद्यालयलाई नजिकैको त्रिभुवन जनता माध्यामिक विद्यालयमा गाभिएको छ ।

शिक्षक, कर्मचारी पनि उतै गए । सम्बन्धित निकायबाट ध्यान नपुर्याइँदा भवन जिर्ण भए । आम्दानी घट्दै गएपछि बाल मन्दिर काम नलाग्ने अवस्थामा पुगेको छ । बाल मन्दिरमा भाडा लिएर व्यवसाय गर्ने तथा कार्यालय चलाउनेहरु पनि छाडेपछि बालमन्दिर शुुन्य आम्दानीमा छ । आउनुपर्ने हिसाव किताब पनि गरिएको छैन भने दिनुपर्नेले पनि लामो समयदेखि भाडा तिरेका छैनन् ।

बाल मन्दिर प्राङ्गन हरेक विहान व्यस्त हुन्छ । दुई वटा ब्याडमिन्टन कोर्ट छन् । विहान खेलाडी जम्मा हुन्छन् र ब्याडमिन्टन खेल्छन् । कहिलेकाँही सरसफाई पनि गर्छन् । बाल मन्दिर केही कारणले सुहाउँदो बुझाउँदो छ भने यही खेल र खेलाडीले छ । बाल मन्दिर प्राङ्गनले यत्तिले धानेको छैन । व्यक्तिगत, व्यवसायिक सवारीका साधन पार्किङ, कसैका निर्माण सामग्री राख्न पनि  यसैलाई उपयोग गर्ने गरिएको छ । यस अघि सरोकारवाला कसैले बाल मन्दिर व्यवस्थापनमा ध्यान दिएन ।

न संघीय सरकार, न प्रदेश सरकार र न स्थानीय सरकार । न बाल संगठन कसैले पनि यसमा ध्यान दिएनन् । तर यो आर्थिक वर्ष २०७८/०७९ मा भने मुसीकोट नगरपालिकाले यसको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । १० लाख रुपैयाँ विनियोजन गरिएको र त्यसैबाट यसको व्यवस्थापनको योजना बनाइएको नगरप्रमुख देविलाल गौतमले बताउनुभयो । व्यवस्थापनका लागि अरु बजेट चाहिएपनि नगर आफैले पनि व्यवस्थापन गर्ने तथा प्रदेश, संघ सरकारलाई पनि अनुरोध गर्ने नगरप्रमुख गौतमले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update