Kakhara सबैको खबर सम्पूर्ण खबर
'सेवा प्रवाहमा सामाजिक न्याय पुगेको छैन'

सेवा दिँदा वा लिँदा सामाजिक न्याय नपुगेको गुनासो उठेको छ । रुकुम पश्चिम स्थित स्थानीय तहहरुबाट दिइने सेवा लिँदा सेवा लिनेले गर्नुपर्ने जति न्याय महशुस हुन नसकेको आवाज उठाइएको हो । कति न्याय नपाइएको भन्दा पनि सेवा लिँदा बाध्यताबस सामाजिक न्याय नपुगेको जस्तो महशुस हुने गरेको सरोकारवालाले बताएका छन् ।

ग्रामिण युवा सरोकार केन्द्र र मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेसले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको ‘स्थानीय तहको सेवा प्रवाह तथा सामाजिक न्यायको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । कति सेवा लिँदा जानाजान न्याय महशुस नहुने गरी लिइएको छ भने कति सेवा बाध्यताबस त्यस्तो अवस्थामा प्रवाह भइरहेको सहभागिहरुले बताएका छन् ।

भौतिक संरचना, कर्मचारी अभाव, विषय विज्ञताको अभावका कारण बाध्यतास समयमै सेवा नपाइएको र समयमै सेवा नपाइएपछि सामाजिक न्याय पाइएको महशुस नहुने गरेको सहभागिको भनाई छ । अन्तरक्रियामा मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधकिृत नरहरि तिवारीले स्थानीय तह सबभन्दा नजिकको सरकार भएकाले अपेक्षा धेरै भएको बताउँदै सकेसम्म सेवा प्रवाहलाई नागरिकमैत्री, सेवाग्राहीमैत्री बनाउन प्रयास भइरहेको बताउनुभयो ।

सकेसम्म राम्रो गर्न प्रयास भइरहेको र कतै असजिलो भएको भए त्यसलाई सजिलो बनाउनका लागि नगरपालिका निरन्तर लागिरहेको भनाई उहाँको छ । कतिपय कुरा नपुगेको महशुस भइरहेकाले कसरी व्यवस्थित र सहज सेवा प्रवाह गर्न सकिन्छ यसका विषयमा नगरपालिका गम्भिर रहेको अधिकृत तिवारीले बताउनुभयो ।

मुसीकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनारले नगरपालिकाले सकेसम्म सेवा प्रवाहलाई व्यवस्थित गरिरहेको बताउनुभयो । स्थानीय सरकार बनेपछि सेवा प्रवाह गर्ने र सेवा लिने तौरतरिका फेरिएको र अँझ नजिकिएको भनाई उहाँको छ । आवश्यक्ता, माग बढ्दै गएको र त्यो अनुसार नपुग्दा मात्रै केही नभएको जस्तो देखिएपनि स्थानीय सरकार जनताको नजिकको सरकारको रुपमा स्थापित भइसकेको भन्दै उहाँले बरु बढेका जनताका माग र आवश्यक्ता परिपुर्तिमा थप लगानी र योजना पहल गर्नुपर्ने देखिएको बताउनुभयो ।

स्थानीय तहको सेवा प्रवाह तथा सामाजिक न्यायको अवस्था कस्तो छ, सेवा लिँदा दिँदा कसरी काम भइरहेको छ, यसबाट सेवाग्राही कत्तिको सन्तुष्टि छन् भनेर कार्यक्रम आयोजना गरिएको ग्रामिण युवा सरोकार केन्द्रका अध्यक्ष पुस्तक चन्दले बताउनुभयो । समस्या भए त्यसको व्यवस्थापन र हल कसरी गर्न सकिन्छ भन्ने निष्कर्ष पनि आओस भनेर अन्तरक्रिया गरिएको अध्यक्ष चन्दले बताउनुभयो । लामो समयदेखि जमर्को गरिएको कार्यक्रम गरिएको हरप्लेसका कार्यक्रम संयोजक महेश केसीले बताउनुभयो ।

अहिलेसम्म भएका असल अभ्यासको जानकारी आदानप्रदान भइरहेका कामकाजलाई थप राम्रा र आहा लाग्ने बनाउन के गर्न सकिन्छ र त्यसमा कसको के भूमिका रहन्छ भन्ने विषयमा छलफल गरी एउटा नतिजा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको केसीको भनाई छ । कार्यक्रमपछि सुधार्नुपर्ने कुुरा सुधार गरेर जाने प्रतिबद्धता भएको पनि उहाँले जानकारी दिनुभयो ।


 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update