पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य जनार्दन शर्माले किसानको माग तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ । उखुको बक्यौता उठाउनका लागि आन्दोलनमा आएका उखु किसानलाई आन्दोलनमा नभइ बारीमा पठाउने गरी सरकारले निर्णय लिनुपर्ने नेता शर्माको भनाई छ । किसान बारीमा रहनुपर्ने बेला माइतीघर आउन बाध्य बनाइनु सरकारको लाचारीपन भएको उहाँको भनाई छ ।
सामाजिक सञ्जाल मार्फत उहाँले तत्काल किसानले उखुको बक्यौता पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । किसान सडकमा आइसक्दा समेत सरकार थाहा नपाए जसरी बस्नु भनेको किसान र कृषि कर्मको अपमान भएको शर्माको भनाई छ ।उखुको भुक्तानी माग्दै किसानहरु काठमाडौंमा प्रदर्शन पुगेका छन् ।
उखु किसानहरुले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग किसानहरुको । शनिबार उखुको भुक्तानी माग्न किसानहरु काठमाडौं पुगेका थिए । ४/५ वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् ।
उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् । अरुकै जग्गा भाडामा लिएर ऋण काढेर उत्पादन गरेको उखुको मूल्य नपाएपछि ठूलो समस्या झेल्नु परिरहेको किसानहरुले बताएका छन् ।