Kakhara सबैको खबर सम्पूर्ण खबर
१ सय ६६ जना रक्तदातालाई सम्मान 
जिल्ला अस्पतालका डा. राजकुमार भुजेललाइ प्रशंसा पत्र दिदै मुसीकाेट नगर प्रमुख देविलाल गाैतम ।

रक्तदाता दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदाताहरुलाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले ३ वर्षमा रक्तदान गर्ने १ सय ६६ जनालाई सम्मान गरेको हो । मुसीकोट खलंगाको बालमन्दिरमा एक कार्यक्रमको आयोजना गरी २०७५ को जेठ २ गतेबाट हालसम्म जिल्ला अस्पताल सल्लेमा रक्तदान गर्नेलाई सम्मान गरिएको रेडक्रसकी जिल्ला सभापति रमा गौतमले जानकारी दिनुभयो । रक्तदान गरेर जीवन दान गर्ने दाताहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको उहाँले बताउनुभयो ।

रगत दान गरेर कसैको ज्यान बचाउनेलाई जति नै सम्मान गरेपनि कमै हुने भएपनि आगामी दिनमा समेत रगत दान गर्ने हौसला मिलोस भनेर सम्मान गरिएको उहाँको भनाई छ । जिल्ला अस्पतालमा रक्तदान गरेकाहरुको रेकर्ड रहेकाले उनिहरुलाई मात्र सम्मान गरिएको रेडक्रसले जनाएको छ । चौरजहारी अस्पतालमा रक्तदान गरेकाहरु भने छुटेका छन् । मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, निमित्त प्रमुख जिल्ला अधिकारी प्रमेश सिवा, रेडक्रस सभापति गौतम लगायतले सम्मान गर्नुभएको हो । 

फेरि उठ्यो ब्लड बैंक स्थापनाको कुरा 
कार्यक्रमका सहभागिहरुले जिल्लामा ब्लड बैंक स्थापनाको कुरा उठाएका छन् । ब्लड बैंक नुहँदा बिरामीको ज्यान जोखिममा रहेको भन्दै सहज ब्लड प्राप्तीका लागि जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनुपर्नेमा कार्यक्रममा उपस्थित सहभागिहरुले उठाएका हुन् । जिल्लामा पटक पटक ब्लड बैंक स्थापनाको कुरा उठ्ने गरेको छ । तर ब्लड बैंक स्थापना भने हुन सकेको छैन् । रेडक्रसले कुनै बेला ब्लड बैंक स्थापना गर्ने भनेर ठुलै तामझाम गरेको थियो । तर अहिले सेलाएको छ । रेडक्रस सभापति गौतमले अव ब्लड बैंक स्थापनाका लागि जिल्लामा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने बताउनुभयो ।  
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update