रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, की २६ वर्षीया मनकला खत्री खड्काको विभत्स हत्या भएको पाइएको छ । सोमबार राति शव भेटिएपछि मंगलबार दिउँसो प्रहरीले घटना स्थल र र शवको अवस्था हेरेपछि मनकलाको हत्या भएको पाइएको हो । मनकलाको टाउकामा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट छ ।
एउटा कान नै काटेर लगिएको छ भने एउटा कान च्यातिएको छ । मनकलाको घाँटीमा पनि रातो डाम लागेको छ । मनकलाले कान, नका र घाँटीमा लाएको गहना लगेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले मनकलाको हत्या भएको बताउनुभयो । शरीरमा लागेको चोट र घटना स्थलको प्रकृति हेर्दा हत्या भएको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीले तालिम प्राप्त कुकुरले अनुसन्धान थालेको छ ।
कोहलपुरबाट तालिम प्राप्त कुकुर र केही जनशक्ति बोलाएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो । सोमबार बेलुकी मनकला गोठमा रहेका भैंसीलाई घाँस हाल्नका लागि गएको बेला मनकलामाथि आक्रमण भएको थियो । गोठबाट लामो समयसम्म नफर्किएपछि मनकलालाई खोज्न आफन्तहरु गएका थिए । त्यसपछि तीन वटा कान्लातल मनकलाको शव भेटिएको थियो । मनकलाले आक्रमणकारीको प्रतिकार गरेको बुझिएको छ । घटना स्थलका मकै र घाँस मरेको छ । यसमा मनकलाले प्रतिकार गरेको अनुमान गर्न सकिने स्थानीयले बताएका छन् ।