रुकुम पश्चिम त्रिवेणि गाउँपालिका ४ मा भएको घटनाप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी घटनाप्रति दुःख व्यक्त गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जारी गर्नुभएको विज्ञप्तीमा रहस्यमय ढंगबाट भएको उक्त घटनाले गाउँपालिकालाई दुःखी तुल्याएको उल्लेख छ ।
मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै अधिकृत पुनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । घटनाको अनुसन्धान प्रक्रिया सुरु भइसकेकाले पीडित परिवारले न्याय पाउने विश्वास गर्दै विज्ञप्तीमा दोषि पत्ता लगाउन सबैपक्षलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
सोमबार बेलुकी ४ नम्बर वडाकी २६ वर्षीया मनकला खत्री खड्काको हत्या भएको छ । भैंसी गोठमा गएर फर्कने क्रममा मनकलामाथी आक्रमण भएको र त्यसपछि उनको मृत्यु भएको बताइएको छ । उनको नाक, कान र घाँटीमा भएको गरगहना लुटिएको छ । टाउकामा धारिलो हतियारको गहिरो चोट छ भने एउटा कान पूरै काटिएको छ अर्को कान च्यातिएको अवस्थामा छ ।