मनकला खत्री खड्का हत्या घटनाको सन्दर्भमा सोधपुछका लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, की २६ वर्षीया मनकला खत्रीको हत्याको सन्दर्भमा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई सोधपुछका लागि जिल्ला ल्याइएको र आवश्यक अनुसन्धान थालेको जानकारी दिनुभयो । 'अलि अलि शंकाको आधारमा ३ जनालाई नियन्त्रणमा लिईएको छ, धेरै कुरा खुल्न बाँकी छ, अनुसन्धानकै क्रममा रहेकाले उनिहरुको नाम सार्वजनिक गर्न केही समय लाग्ला,' डिएसपी श्रेष्ठले भन्नुभयो । मंगलबार नै ३ जनालाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको २ जना नाबालक भएको बताइएको छ ।
प्रहरीले शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ । सोमबार राति मनकलाको मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो । खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा तीन कान्ला तल शव भेटिएको थियो । मनकलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।