Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा भेरोसेल खोप लगाउन सुरु
खलंगाकाे बालमन्दिरमा खाेपका लागि लाइनमा लागेकाहरू ।

रुकुम पश्चिममा आजबाट भेरोसेल खोप लगाउन सुरु भएको छ । जिल्लाका ४ वटा स्थानीय तहमा चीनबाट ल्याईएको कोरोना बिरुद्धको भेरोसेल खोप लगाउन सुरु भएको हो । मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणि गाउँपालिका र बाँफिकोट गाउँपालिकामा खोप लगाउन सुरु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

मुसीकोटका ६ वटा, सानीभेरीका ५ वटा, त्रिवेणिका ५ वटा र बाँफिकोटका ४ वटा केन्द्रबाट खोप लगाउन सुरु भएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट खोप लगाउन सुरु भएका ४ वटा स्थानीय तहमा ३ दिनसम्म खोप कार्यक्रम जारी रहने छ । आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा भने साउन १६ गतेबाट खोप लगाउन सुरु हुने छ ।

आठबीसकोटका ५ र चौरजहारीका ५ वटा खोप केन्द्रमा पनि तीन दिनसम्म खोप लगाउन पाईने खोप सुपर भाइजर अधिकृत खड्काले बताउनुभयो । जिल्लामा अहिले झण्डै ११ हजार व्यक्तिलाइ पुग्ने खाेप आएको उहाँले बताउनुभयाे । ५५ वर्ष माथीका सबै नागरिक र शिक्षक, कर्मचारी, सार्वजनिक यातायात सेवाका चालक र सह चालक, अत्यावश्यक व्यापार सेवा खाद्यान्न, डेरी, ग्याँस पसले लगायतले खोप लगाउने पाउने उहाँको भनाई छ ।

भेरोसेल खोप कार्यक्रम १८ गतेसम्म संचालन हुने र त्यसपछि अमेरिकाबाट ल्याईएको जोनसन एण्ड जोनसन कम्पनीको खोप कार्यक्रम संचालन हुने बताईएको छ । यो कार्यक्रम सकिएपछि कोभिशिल्डको पहिलो डोज लगाएकाहरुलाई जापानबाट आउने अस्ट्राजेनिका खोप लगाईने छ । 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update