रुकुम पश्चिमको सानीभेरी गाउँ कार्यपालिकाले चन्दा नदिएकै कारण ८ नम्बर वडाध्यक्ष शशिराम बुढाथोकीमाथी दुर्व्यवहार र कुटपिट भएको बताएको छ । कार्यपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष नरबहादुर पुनले जारी गर्नुभएको विज्ञप्तीमा विप्लव नेतृत्वका नेकपाका कार्यकर्ताले तोकेरै तीन लाख चन्दा मागेको र चन्दा दिन नसक्ने बताएपछि वडाध्यक्ष बुढाथोकीमाथी दुर्व्यवहार भएको उल्लेख गर्नुभएको छ ।
तोकिएको चन्दा दिन नसक्ने बताएपछि केही छलफल गर्नुछ भनेर होटलमा बोलाई गरिएको दुर्व्यवहार प्रति कार्यपालिकाले खेद प्रकट गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिकाले घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कानूनी कारबाहीको माग समेत गरेको छ ।
विप्लवका कार्यकर्ताले १२ गते मंगलबार सिम्लीबजार स्थित एक होटलमा बोलाई वडाध्यक्ष बुढाथोकीमाथी दुर्व्यवहार गरेका थिए । दुर्व्यवहार गर्नेमध्यका २ जना शिव विक र तिलक पुनलाई स्थानीयले छोपेर प्रहरीलाई बुझाइदिएका थिए । उनिहरु हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनिहरु विरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ ।