रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, की मनकला खत्री खड्काको हत्या भयो । साउन ११ गते सोमबार २६ वर्षीया खड्काको विभत्स हत्या भयो । गोठमा रहेका भैंसीलाई घाँस हाल्ने गएकी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव भेटियो । त्यसको २ दिनपछि हत्यारा पत्ता लागेका छन् ।
मृतक खड्काकै सहोदर भतिजा जेठाजुका दुई छोराले उनको हत्या भएको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । १५ र ११ वर्षका दुई सहोदर दाजु भाइ मिलेर मनकलाको हत्या गरेको डिएसपी श्रेष्ठले बताउनुभयो । नाबलक भएकाले प्रहरीले उनिहरुको नाम भने सार्वजनिक गरेको छैन ।
मृतकले घाँटी, नाक, कानमा लगाएको गरगहना समेत ति दाजुभाइले राखेको भेटिएको डिएसपी श्रेष्ठले बताउनुभयो । मृतकको शरीरबाट हराएका सबै गरहना, एउटा खुर्पा, उनिहरुले घटनाका बेला लगाएका कपडा पनि प्रहरीले फेला पारेको छ । उनिहरुले हत्या गरेको स्विकारेपछि प्रहरीले उनिहरुलाई फेरि घटना स्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ ।
पूरानो रिसिवि र परम्परागत मान्यताका कारण घटना भएको निष्कर्ष प्रहरीको छ । केही समय पहिला मृतक खड्काले १५ वर्षीय बालकले १५ हजार नगद चोरी गरेको आरोप लगाएपछि दुवैबीच रिस बढेर गएको प्रहरीले बताएको छ । घटना भएको दिन मृतकले दाजुभाइले काटेको घाँस नाघेपछि रिसको आवेगमा अन्टीलाई खुर्पा हानेको स्विकार गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।
मनकलाको हत्या भएपछि दाजु भाइ उनको कोठामा गएर बाकस समेत खोलेको पुष्टि भएको डिएसपी श्रेष्ठले बताउनुभयो । प्रहरीले सुरुमा तीन बाबु छोरालाई सोधपुछका लागि ल्याएको थियो । अन्तमा बाँकी अनुसन्धान हुँदै जाने भनेर दुई दाजुभाइले हत्या गरेको विवरण प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । घटना अनुसन्धानका लागि प्रहरी तालिम प्राप्त कुकुर झिकाएको थियो भने प्रदेश प्रहरी कार्यालयबाट २ जना अनुसन्धान अधिकृत पनि जिल्ला थिए । प्रहरीले उनिहरु विरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँका सम्बन्धि कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।