Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट प्रदेशको साढे ३७ करोड बढी बजेट फिर्ता    

वितेको आर्थिक वर्ष २०७७/०७८ मा रुकुम पश्चिमबाट प्रदेशको साढे ३७ करोड बढी बजेट खर्च हुन नसकि फिर्ता गएको छ । चालु र पूजीँगत शिर्षकमा आएको १५ प्रतिशत बजेट खर्च हुन सकेन् । जिल्लामा कुल २ अर्व ५३ करोड ४ लाख ४१ हजार बजेट आएको थियो । जसमध्ये २ अर्व १५ करोड ४४ लाख ३८ हजार ४ सय ५१ रुपैंया खर्च हुन सक्यो । ३७ करोड ६० लाख २ हजार ५ सय ४८ रुपैंया खर्च हुन सकेन् । यो बजेट फ्रिज भएको छ । जिल्लामा प्रदेशको बजेट खर्चको प्रगति ८५.१४ प्रतिशत रहेको छ । 

करिब १५ प्रतिशत बजेट खर्च हुन नसकि प्रदेशमै फिर्ता गएको प्रदेश लेखा इकाले जनाएको छ । कार्यालयका अनुसार चालु तर्फ ९७ करोड ६३ लाख ९५ हजार बजेट आएकामा ८० करोड ५० लाख ५६ हजार ३ सय १३ रुपैंया खर्च भएको छ । चालु तर्फको १७ करोड १३ लाख ३८ हजार ६ सय ८५ रुपैंया फ्रिज भएको छ । त्यस्तै पूजीँगत शिर्षकमा २० करोड ४६ लाख ६३ हजार ८ सय ६१ रुपैंया फिर्ता गएको प्रदेश लेखा इकाई कार्यालयका प्रमुख यमबहादुर पुनले जानकारी दिनुभयो । 

पूजीँगत तर्फ १ अर्व ५५ करोड ४० लाख ४६ हजार आएकामा १ अर्व ३४ करोड ९३ लाख ८२ हजार १ सय ३८ रुपैंया खर्च भएको उहाँले बताउनुभयो । प्रदेशबाट स्थानीय तह र प्रदेश मातहतका कार्यालयमा आएको सबै बजेट खर्च हुन नसकेको हो । कोभिड महामारी र ढिलो गरी बजेट आएका कारण सबै बजेट खर्च हुन नपाएको इकाई प्रमुख पुनले बताउनुभयो । तर यो खर्च सन्तोषजनक नै रहेको उहाँको भनाई छ । जिल्लामा ६ स्थानीय तह र प्रदेश मातहतका १ दर्जन कार्यालय रहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update