Kakhara सबैको खबर सम्पूर्ण खबर
खोप लगाउन नपाईने भएपछि डेढसय व्यापारीले व्यवशाय नविकरण गरे 

रुकुम पश्चिममा २ सातामा २ सय व्यापारीले व्यवशाय नविकरण गरेका छन् । उद्योग वाणिज्य संघले व्यवशाय नविकरण नगरेका व्यापारीलाई कोरोना विरुद्धको खोपका लागि सिफारिस नगर्ने भनेपछि तोकिएको समुहका डेढ सय र अन्य गरी २ सय जनाले आफ्नो व्यवशाय नविकरण गरेका हुन् । 

अहिले चीनबाट ल्याईएको भेरोसेल खोप लगाउने गरी जिल्लामा खोप कार्यक्रम चलिरहेको छ । जसमा ५५ वर्ष माथिका नागरिक सहित अतिआवश्यक सेवाका व्यापारीलाई समेत समेट्ने भनिएपछि उद्योग वाणिज्य संघले व्यापार व्यवशाय नविकरण गरेका व्यापारीहरुलाई मात्र सिफारिस गर्ने भनेको थियो । 

त्यसपछि व्यापारीहरुले यो निर्णयको विरोध गरेका थिए । विरोध भएपनि डेढ सय बढी तोकिएको क्षेत्रभित्रका व्यापारीहरुले व्यवशाय नविकरण गरेको उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काले जानकारी दिनुभयो । डेरी, तरकारी, खाद्यान्न, सैलुन, व्युटिपार्लर, ग्याँस पसल लगायतका १ सय ६८ जना व्यापारीले व्यवशाय नविकरण गरेको उहाँले बताउनुभयो । 

उद्योग वाणिज्य संघले नियमअनुसार नचलेका व्यापारीलाई सिफारिस नगर्ने भनेपछि यि सबैले खोप लगाउनकै लागि नविकरण गरेको हुनसक्ने उहाँको भनाई छ । उहाँका अनुसार तोकिएको क्षेत्र भन्दा बाहिरका व्यापारीले पनि व्यवशाय नविकरण गरेका छन् । त्यस्ता व्यापारी अहिलेसम्म ३० जना रहेका छन् । 

सबै गरेर साउन १ गतेबाट हालसम्म दुई साताको अवधिमा १ सय ९८ जना व्यापारीले व्यवशाय नविकरण गरेको अध्यक्ष खड्काले बताउनुभयो । उद्योग वाणिज्य संघले नै खोपका लागि व्यापारीलाई सिफारिस गर्नु भनेपछि नविकरण नभएकालाई कसरी सिफारिस गर्न सकिन्छ र ? उहाँले भन्नुभयो ।    

नविकरण हुँदैनन् पसल 
रुकुम उद्योग वाणिज्य संघमा अहिले जिल्लाका ४ वटा स्थानीय तहका व्यापारी आवद्ध छन् । चौरजहारी नगरपालिकामा छुट्टै उद्योग बाणिज्य संघ छ भने आठबीसकोटमा शाखा छ । बाँकी मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणि गाउँपालिका र बाँफिकोट गाउँपालिकामा संचालित व्यापार, व्यवशाय रुकुम उद्योग वाणिज्य संघमा दर्ता भएका छन् ।

संघमा हाल १ हजार ४ सय ३६ व्यवशाय दर्ता छन् । तर असार मसान्त सम्ममा जम्मा २ सय २४ वटा व्यवशाय मात्र नविकरण भएका छन् । बाध्यता नपरुञ्जेलसम्म व्यापारीहरुले पसल नविकरण नै नगर्ने अध्यक्ष खड्काले बताउनुभयो । ‘व्यवशाय नविकरण नगरेसम्म नहुने काम भयो भने र आफुलाई फाईदा हुने भयो भने मात्र व्यापारीहरु नविकरणका लागि आउनुहुन्छ, उहाँले भन्नुभयो–बाध्यता परे बाहेक अन्य अवस्थामा व्यवशाय नविकरण नै हुने गरेका छैनन् ।’ 

कर तिर भनेर जति ताकेता गर्दा पनि व्यापारीहरुले कर नतिरेको रुकुम उद्योग वाणिज्य संघको भनाई छ । प्रत्यक तीन वर्षमा हुने अधिवेशनमा व्यवशाय नविकरण नगरे भोट हाल्न नपाईने भएका कारण अधिकांश व्यापारीले अधिवेशनका बेला नविकरण गर्ने गरेपनि पछिल्लो पटक २०७२ पछि उद्योग वाणिज्य संघको अधिवेशन नै भएको छैन् ।

 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update