Kakhara सबैको खबर सम्पूर्ण खबर
मनकला हत्या काण्डः आरोपी नाबालकका आमा बुवाका नाममा जाहेरी  
घटनाको मसिनो अनुसन्धान गरी दोषिलाई कारवाही गर्न ध्यानाकर्षण गराउन जिल्ला प्रहरी कार्यालयमा पुगेका त्रिवेणि ४ का स्थानीय ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या भएको घटनामा तेस्रो जाहेरी परेको छ । मनकलाकी आमाले पक्राउ परेका आरोपी नाबालकका आमा बुवाका नाममा जाहेरी दिएकी हुन् । आईतबार अपरान्ह ठुलो संख्यामा स्थानीय महिला तथा केहि पुरुषहरु जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनिहरुले घटनाको मसिनो अनुसन्धान गर्न र कोही पनि दोषिले उन्मुक्ति पाउन नहुने भन्दै प्रहरीको ध्यानाकर्षण गराएको थिए । 


पक्राउ परेका १५ र ११ वर्षिय नाबालकका आमा बुवामाथि पनि अनुसन्धान गर्नुपर्ने माग सहित स्थानीय प्रहरी कार्यालय पुगेका हुन् । उनिहरुले आमा बुवालाई थाहा नभई नाबालक छोराहरुले मात्र हत्या गरे होलान भनेर कसरी पत्याउने भन्दै प्रश्न गरेका थिए । आइतबार नै मनकलाकी आमाले ओरोपीका आमा बुवाका नाममा किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो संगै तेस्रो जाहेरी परेको उहाँको भनाई छ । 

उहाँका अनुसार यसअघि सुरुमा वेनामे किटानी जाहेर परेकामा दोस्रो पटक दुई नाबालकका नाममा किटानी जाहेरी परेको थियो । वेनामे जाहेरी मनकलाको जेठाजु र दुई नाबालकका नाममा मनकलाका बुवाले जाहेरी दिएको डिएसपी श्रेष्ठले बताउनुभयो । यसैविच प्रहरीले आरोपी नाबालकका बुवालाई दोस्रो पटक नियन्त्रणमा लिएको छ । सुरुमा दुई छोरा सहित पक्राउ परेका उनलाई तारेखमा छाडिएको थियो । 

तर किटानी जाहेरी परेपछि उनलाई पुनः आईतबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको डिएसपी श्रेष्ठको भनाई छ । आमालाई भने नियन्त्रणमा लिईएको छैन् । आमालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update