Kakhara सबैको खबर सम्पूर्ण खबर
एक वर्षमा २ हजार ५ सय घरमा बिजुली 

रुकुम पश्चिममा साढे १४ हजार घरमा बिजुली पुगेको छ । नेपाल बिद्युत प्राधिकरण र स्थानीय लघु जलविद्युत आयोजना मार्फत जिल्लाका १४ हजार ५ सय घरमा बिजुली पुगेको हो । जिल्लामा ७९ प्रतिशत घरमा बिद्युतिकरण भएको छ । नेपाल बिद्युत प्रधिकरणबाट ६७ प्रतिशत र स्थानीय लघु जलविद्युत आयोजना मार्फत १२ पतिशत ठाउँमा बिद्युतिकरण भएको नेपाल विद्युत प्राधिकरण मुसीकोट वितरण केन्द्रले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी बाँफिकोट गाउँपालिका र सबैभन्दा कम आठबीसकोट नगरपालिकामा विद्युतिकरण भएको छ । नेपाल विद्युत प्राधिकरण मुसीकोट केन्द्र प्रमुख त्रिलोलन भट्टराईका अनुसार बाँफिकोटमा ९५ प्रतिशत, मुसीकोटमा ९२ प्रतिशत, त्रिवेणि गाउँपालिकामा ८० प्रतिशत, सानीभेरी गाउँपालिकामा ७६ प्रतिशत, चौरजहारी नगरपालिकामा ६५ प्रतिशत र आठबीसकोट नगरपालिकामा ४७ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ । 

वितेको एक वर्षमा मात्र २ हजार ५ सय घरमा बिजुली पुगेको छ । ६ वटै स्थानीय तहका २ हजार ५ सय नागरिकहरु बिजुलीको पहुँचमा पुगेको केन्द्र प्रमुख भट्टराईले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लाको सबैभन्दा विकट वडा मध्यको आठबीसकोट नगरपालिका वडा नं. ३ खदीमा पनि विद्युत विस्तार भएको उहाँको भनाई छ । 

आठबीसकोटमा खदी सहित वडा नं. ९ को राडी, सानीभेरी गाउँपालिका वडा नं. १ को चाईनाबगर, २ को गिठाकोट, ९ को सिम्ली, मुसीकोट नगरपालिका वडा नं. १४ को बाटुलेचौर, ८ को ग्याम्माखोला, खालबोट, चौरजहारी नगरपालिकाको अम्लाटाकुरा, आमडाँडा, वेतिनी, बाँफिकोट गाउँपालिकाको बाँसथला, दुली र त्रिवेणि गाउँपालिका ७ को बारधार्नीमा बिजुली बलेको भट्टराईले बताउनुभयो ।

गत वर्ष कुल २७ लाख, २५ हजार ६ सय ६३ युनिट बिजुली बिक्रि भएकामा ३ करोड ५६ लाख ६६ हजार २ सय ८८ रुपैंया राजश्व संकलन भएको नेपाल विद्युत प्राधिकरण मुसीकोट वितरण केन्द्रले जनाएको छ । कोरोना भाइरसले विद्युत विस्तारमा समस्या भएपनि सन्तोषजनक उपलब्धी हाँसिल भएको कार्यालयको भनाई छ । अहिले जिल्लामा सल्यानको श्रीनगर र जाजरकोटको जगतिपुर गरी दुई वटा सव स्टेशनबाट विद्युत आपूर्ति भइरहेको छ । भने जिल्लामै पनि सव स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update