Kakhara सबैको खबर सम्पूर्ण खबर
मनकला हत्याका दोषिलाई कारबाहीको माग गर्दै महिलाहरु पुगे गाउँपालिकामा

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नं. ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै महिलाहरु गाउँपालिका कार्यालयमा पुगेका छन् । आईतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका स्थानीय महिलाहरु आज त्रिवेणि गाउँपालिकाको कार्यालय खारानेटामा पुगेका हुन् । डेढ सय बढी महिलाहरु दोषिलाई कारबाहीको माग गर्दै नाराबाजी सहित गाउँपालिकाका कार्यालयमा पुगेका थिए । 

मनकला हत्या काण्डः आरोपी नाबालकका आमा बुवाका नाममा जाहेरी  

उनिहरुले घटनामा पक्राउ परेका नाबालकका आमा बुवाको पनि घटनामा संलग्नता रहेको दाबी गर्दै गहिरो अनुसन्धानको माग गरेका छन् । नाबालकलाई मात्र देखाएर घटनामा संलग्नलाई उन्मुक्ति नदिन उनिहरुले प्रहरी कार्यालयको ध्यानाकर्षण गराईसकेका छन् । आज उनिहरुले गाउँपालिकामा पुगेर घटनाका दोषिलाई कडा कारबाहीका लागि सहयोग गर्न आग्रह गरेका छन् । दोषिलाई उन्मक्ति दिने चेष्टा गरिए आन्दोलनलाई चर्काउने उनिहरुको चेतावनी छ । 

 
साथै उनिहरुले महिलाको शान्ति सुरक्षाको माग गरेका छन् । कतिञ्जेल महिलाहरुले ज्यान गुमाउनुपर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । आईतबार प्रहरी नियन्त्रणमा रहेका आरोपीका आमा बुवाका नाममा पनि किटानी जाहेरी परिसकेको छ । जाहेरी पश्चात बुवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र आमालाई पनि नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । 
 
 
बारीमा बाँधेका वस्तुभाउलाई घाँस हाल्न गएकी मनकलाको गत सोमबार साँझ हत्या भएको थियो । उनको हत्या आरोपमा उनका जेठाजुका २ नाबालक छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा उनिहरुको नै संलग्नता रहेको र अन्यको पनि संलग्नता हुन सक्ने तर्फ अनुसन्धान भइरहेको जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update