रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४ की २६ वर्षिया मनकला खत्री खड्काको हत्या आरोपमा पक्राउ परेका दुई नाबालककी आमालाई पनि प्रहरीले पक्राउ गरेको छ । मनकलाकी आमाको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो । उक्त घटनामा यसअघि नै ११ र १५ वर्षिय नाबालक र उनिहरुका बुवालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुरुमा २ छोरा र बुवालाई पक्राउ गरिएकामा बुवालाई तारेखमा रिहा गरिएको थियो ।
तर मनकलाकी आमाले पक्राउ परेका नाबालकका आमा र बुवाका नाममा किटानी जाहेरी दिएपछि बुवा र आमालाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बुवालाई भने आईतबार नै प्रहरीले पक्राउ गरेको थियो । बारीमा बाँधेका वस्तुभाउलाई घाँस हाल्न गएकी मनकलाको साउन ११ गते बेलुकी हत्या भएको थियो । उनका जेठाजुका छोराहरु ११ र १५ वर्षिय नाबालकले हत्या गरेको स्विकार गरिसकेको प्रहरीको भनाई छ ।
स्थानीयले हत्यामा नाबालकको मात्र नभई आमा, बुवाको पनि संलग्नता हुनसक्ने भन्दै पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आएका थिए । आमा, बुवा पनि पक्राउ परेसंगै मनकला हत्याकाण्डमा एकै घरका ४ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।