Kakhara सबैको खबर सम्पूर्ण खबर
मकै ४५ र धान उत्पादन ४४ प्रतिशतले बृद्धि

धान र मकैको उत्पादन व्यापक बढेको छ । गतवर्षकै जति क्षेत्रफलमा खेति गरिए पनि यो वर्ष धान र मकै दुवैको उत्पादन झण्डै आधाले बृद्धि भएको हो । यो वर्ष ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेति भएकामा ४४.४१ प्रतिशतले उत्पादन बढेको छ । गत वर्ष ८ हजार ९ सय ७६ मेट्रिक टन धान फलेकामा यो वर्ष १२ हजार ९ सय ५४ मेट्रिक टन धान फलेको छ । यो गत वर्षको तुलनामा ३ हजार ९ सय ८७ मेट्रिकटन अर्थात ४४.४१ प्रतिशत बढी हो । यो वर्ष प्रति हेक्टर ४.२५ मेट्रिक टनका दरले धान उत्पादन भएको कृषि विकास कार्यालयका सूचना अधिकारी महेशकुमार बिष्टले जानकारी दिनुभयो ।

मकैको उत्पादन पनि बढेको छ । बिष्टका अनुसार मकै उत्पादनमा गतवर्षको तुलनामा ४५.०२ प्रतिशत बृद्धि भएको छ । यो वर्ष १२ हजार ३२ मेट्रिकटन बढी फलेको छ । ८ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा मकै खेति गरिएकामा गत वर्ष प्रति हेक्टर ३ मेट्रिक टनका दरले २६ हजार ७ सय २३ मेट्रिक टन मकै फलेकामा यो वर्ष त्यति नै क्षेत्रफलमा मकै खेति गरिदा प्रति हेक्टर ४.६४ मेट्रिक टनका दरले ३८ हजार ७ सय ५५ मेट्रिक टन मकै फलेको छ ।

लकडाउनका कारण सबै व्यक्ति कृषिमा लागेको र मौसमले साथ दिएका कारण यो वर्ष जिल्लामा धान र मकैको उत्पादनमा उल्लेख्य बृद्धि भएको सूचना अधिकारी बिष्टको भनाई छ । ‘कोरोना भाईरस(कोभिड–१९)को महामारी नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि सबै व्यक्ति गाउँ फर्किए र खाली बस्नुभन्दा खेतिपातिमा लागे, जसका कारण यो वर्ष झण्डै आधाले उत्पादनमा बृद्धि भएको छ, उहाँले भन्नुभयो ।’ जिल्लाका सबै ६ वटै स्थानीय तहमा मकै र धान खेति हुने गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update