Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा अक्सिजन उत्पादन सुरु

रुकुम पश्चिममा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको हो । चौरजहारी नगरपालिका १, मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको छ । चौरजहारी नगरपालिकाको लगानीमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।

१ करोड १० लाख रुपैयाँमा अक्सिजन प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे २ लाख बजेट लगानी अस्पतालले गरेको छ । प्लान्टको पूरै लगानी भने चौरजहारी नगरपालिकाले गरेको प्रशासक गिरीले बताउनुभयो । सञ्चालन सहजताका लागि उक्त प्लान्ट चौरजहारी अस्पतालमा जडान गरिएको जनाइएको छ । चौरजहारीमा दुईदिनदेखि अक्सिजन उत्पादन भइरहेको हो । 

दैनिक ३६ वटा सिलिन्डरसम्म भर्ने क्षमता 
कोरोना महामारीको दोस्रो भेरियन्ट व्यापक बनेका बेला जिल्लामा अक्सिजनको हाहाकार भयो । अक्सिजन दिनुपर्ने विरामीको संख्या बढ्दै गयो तर अक्सिजन भने पाउन मुस्किल हुने भयो । यही दुःख टार्नका लागि चौरजहारीमा अक्सिजन प्लान्ट जडानको योजना अघि बढाइएको थियो । यो प्लान्टले दैनिक ३२ देखि ३६ वटा सम्म ४० लिटरका सिलिन्डर भर्न सक्ने क्षमता राख्दछ ।

रुकुम पश्चिम, सल्यान, जाजरकोट र अरु छिमेकी जिल्लालाई समेत लक्षित गरी स्थापना गरिएको प्लान्टले अब अक्सिजन आपूर्तिमा सहज हुने विश्वास गरिएको छ । अक्सिजन प्लान्ट स्थापना गर्ने योजना पहिल्यैदेखि भएपनि कोरोनाको समयमा अक्सिजन प्लान्टको महत्व झन गहिरो गरी महशुस गरिएको थियो । 

अर्को विकल्प थिएन नगरप्रमुखः शर्मा
चौरजहारी नगरप्रमुख विशाल शर्माले अक्सिजन उत्पादनको विकल्प नदेखेपछि प्लान्ट स्थापना गरिएको बताउनुभयो । चौरजहारी नगरपालिकामा रहेको चौरजहारी अस्पतालमा विरामीको भिडभाड हुन्छ । रुकुम पश्चिम, जाजरकोट, सल्यान, डोल्पा जिल्ला, सम्मका विरामी अस्पतालमा आउने गर्दछन् ।

यहाँ हरेक प्रकारको आवश्यक्ता जस्तै अक्सिजनको आवश्यक्ता पनि थियो । अस्पतालमा नियमित अक्सिजनको आवश्यक्ता महशुस भइरहेका बेला आएको कोरोना महामारीले प्लान्ट स्थापना गराउन बाध्य पारेको नगरप्रमुख शर्माले बताउनुभयो । श्वास प्रश्वासका नियमित विरामी, अप्रेशन गर्नुपर्ने विरामी तथा अरु विरामीका लागि पनि चौरजहारी अस्पतालमा धेरै अक्सिजन आवश्यक हुने उहाँको भनाई छ ।

पछिल्लो पटक आएको कोरोना महामारीका विरामीको पहिलो औषधी उपचार भनेकै अक्सिजन भएकाले नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरेको नगरप्रमुख शर्माले बताउनुभयो । अक्सिजन नभइ नहुने बेला नेपालगञ्ज, बुटवल गएर पनि अक्सिजन नपाउने अवस्थाले नगरपालिकामै अक्सिजन प्लान्ट स्थापना गरिएको उहाँको भनाई छ । अब यस आसपासका जिल्लाका लागि समेत अक्सिजन प्लान्टले सहयोग पुग्ने विश्वास उहाँको छ । 

नियमित विजुली आवश्यक
हाल अक्सिजन प्लान जेनेरेटर मार्फत सञ्चालन भइरहेको छ । विद्युत नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको छ । विद्युत हुँदा त्यसैबाट उत्पादन गरेपनि विद्युत नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत आपुर्तिको पहल भइरहेको नगपालिकाले जनाएको छ ।

नगरप्रमुख शर्माले जाजरकोट स्थित कुदु सव स्टेशनबाट नियमित विद्युत आपुर्ति गर्ने गरी पहल अघि बढाउने प्रतिबद्धता गराउनुभयो । ‘स्थानीय स्तरमा उत्पादित विद्युत छैन, केन्द्रीय लाइनलाई नियमित बनाउनका लागि नगरको पहल हुन्छ,’ नगरप्रमुख शर्माले भन्नुभयो । अस्पतालको अरु सेवालाई पनि प्रभावकार बनाउन नियमित विद्युत आवश्यक हुने अस्पतालले जनाएको छ । नियमित विद्युत अभावमा अस्पतालले जेनेरेटर मार्फत सेवा प्रवाह गरिरहेको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update