Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा नगर बस र एम्बुलेन्स सेवा निःशुल्क !
चौरजहारी नगर कार्यपालिकाको कार्यालय ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन गरिरहेको नगर बस र एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएको छ । निश्चित वर्ग, समुदायलाई लक्षित गरी नगरपालिकाले निःशुल्क नगर बस र एम्बुलेन्स सेवा दिने भएको हो । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रमकाे  बुँदा नम्बर १७ मा उल्लेख भए बमोजिम नगरपालिकाले यो सेवा प्रदान गर्न लागेको छ । 

गर्भवती र सुत्केरी महिला, ७० वर्षमाथिका जेष्ठ नागरिक, जनयुद्ध, जनआन्दोलनका घाइते, अपांग, सहिद परिवार, सहिद परिवारका एकाघरका सदस्यहरुले यो सेवा निःशुल्क पाउने जनाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले एक सूचना निकाली यसबाट विस्तृत जानकारी दिनुभएको छ । उक्त सूचना उल्लेख भए अनुसार पूर्ण अशक्त, अति अशक्त भएको व्यक्तिहरु र अति विपन्न परिचय पत्र प्राप्त गरेकाहरुले पनि नगर बस र एम्बुलेन्स सेवा निःशुल्क पाउने छन् । 

के भएपछि पाइन्छ त निःशुल्क नगर बस र एम्बुलेन्स सेवा 
नगरपालिकाले तोकिएका क्षेत्र, वर्ग र समुदायलाई निःशुल्क सेवा लिन भनेको छ तर त्यसका लागि त्यसको पुष्ट्याइँ भने नगरपालिकालाई दिनुपर्ने छ । निःशुल्क सेवा दिनुपर्ने मनासिव कारण खुलेको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्ने छ । गर्भवती महिलाका लागि स्वास्थ्य संस्थामै गर्भ चेकजाँच गरेको प्रमाण पत्र, सुत्केरीका लागि स्वास्थ्य संस्थामै सुत्केरी भएको प्रमाण पत्र आवश्यक पर्ने छ ।

यो पूरा गरेपछि नगर बस र एम्बुलेन्सले निःशुल्क सेवा दिने नगरपालिकाले जनाएको छ । जेष्ठ नागरिकको हकमा पनि नगरपालिकाले प्रदान गरेको परिचय पत्र, जनयुद्ध, जनआन्दोलनका घाइते अपांगहरुको हकामा पनि उक्त पुष्टि हुने खालको परिचय पत्र वा प्रमाण पत्र भए निःशुल्क नगर बस र एम्बुलेन्स सेवा प्राप्त हुने छ । यी सबै कागजातको संकलन र अभिलेखिकरण चालक र सहचालकले गर्नेछन् र नगरपालिकामा पेश गर्ने गरी योजना बनेको छ । 

समस्यामा रहेकाहरुको सहयोगका लागि नगरपालिकाले यो नीति, कार्यक्रम बनाएर कार्यान्वयनमा लिइएको नगरप्रमुख विशाल शर्माले बताउनुभयो । देश, जिल्ला र गाउँ बनाउन विभिन्न क्षेत्रबाट योगदान गरेकाहरु, आफै नसक्ने, आर्थिक रुपमा विपन्न सबैलाई यो सेवा निःशुल्क दिने गरी तयारी अघि बढाइएको नगरप्रमुख शर्माको भनाई छ ।

यो सेवा प्रवाहका लागि नगरपालिकाले थप २ बस थप्ने तयारी गरेको छ । यस अघि नगरपालिकाल ३ वटा बस सञ्चालन गरिरहेको छ । हाल नगरपालिकामा २ वटा एम्बुलेन्स चलिरहेका छन् । अब एउटा शव वाहन खरिदको तयारी नगरपालिकाले गरिरहेको छ । नगर बस चलाउने चौरजहारी नगरपालिका जिल्लाको एक मात्र नगरपालिका हो । 
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update