स्थानीय वनमा पाइने डिम्मुरको वाइन बजार आउन लागेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १२, स्थित कर्णाली वेभरेज प्रालीले आफ्नो उत्पादन बजार ल्याउने अन्तिम तयारी गरेको हो । प्रालीले सम्पूर्ण प्रक्रिया पूरा गरेर अब वाइन बजार पठाउने तयारी गरेको छ । कानूनी र प्रक्रियागत सम्पूर्ण काम सकिएकाले अब उत्पादित वाइन बजार पठाउने तयारीमा लागेको प्रालीका अध्यक्ष दलबहादुर शाहले जानकारी दिनुभयो ।
उक्त प्रालीले यस अघि नै एक लाख लिटर डिम्मुरको वाइन उत्पादन गरिसकेको छ । उद्योग विभाग, राजश्व विभाग लगायत सबै निकायबाट ल्याउनुपर्ने अनुमित, स्वीकृति ल्याइसकेको अध्यक्ष शाहले बताउनुभयो । अब बोतलमा राख्ने स्टिकरको काम मात्रै बाँकी छ । स्टिकर तयार हुन वित्तिकै यो ब्राण्ड बजार जाने जनाइएको छ ।
दश करोडमा उद्योग तयार
आठबीसकोट नगरपालिकामा बनेको यो उद्योग, उद्योगका लागि आवश्यक सामग्री पहिलो लडको वाइन तयार पार्दासम्म दश करोड बजेट खर्च भएको जनाइएको छ । प्रालीले बैंकबाट ४ करोड ऋण लिएको छ । ४३ जना व्यक्तिले २ करोड शेयर लगानी गरेका छन् । २ करोड बजेट आठबीसकोट नगरपालिकाले लगानी गरेको छ ।
२ करोड जति आवश्यक उपकरण खरिदको बक्यौता तिर्न बाँकी छ । सबै खर्च जोड्दा मोटामोटी दश करोड खर्च भएको अध्यक्ष शाहले बताउनुभयो । उद्योग स्थापना त्यसका लागि आवश्यक उपकरण, मेशिन खरिद गर्दा खर्च बढी भएको प्रालीले जनाएको छ । उद्योग स्थापनाका लागि जग्गा व्यवस्थापनदेखि भवन निर्माण लगायतका सम्पूर्ण काम यसै बजेटमा जोडिएको छ ।
पहिलो पटक एक लाख लिटर
प्रालीमा हाल एक लाख लिटर बढी वाइन रहेको छ । यो यस प्रालीको पहिलो उत्पादन हो । प्रालीले एक लाख लिटर बजारमै पठाउने गरी तयारी गरेको छ । रुकुम पश्चिम, रोल्पा र डोल्पा जिल्लाबाट संकलन गरी ल्याइएका डिम्मुरबाट वाइन तयार पारिएको छ ।
अरु आवश्यक चिज सहित मुख्य डिम्मुरको वाइन तयार भएको अध्यक्ष शाहले बताउनुभयो । वाइन बजार पठाउनका लागि बजारको पहिचान, डिलर व्यवस्थापन लगायतका काम पनि भइरहेको अध्यक्ष शाहले जानकारी दिनुभयो । अबको केही दिनमै वाइन बजार पठाइसक्ने गरी तयारी प्रालीले गरिरहेको छ ।
भावि योजना
यो उद्योगले विशेष गरी फलफूल त्यसमा पनि वन जंगलमा पाइने र खेती गरिएको फलफूलबाट वाइन बनाउने योजना राखेको छ । यसको साथै कात्तिके मह, भेरीको मह र डिम्मुरको विशेष वाइन उत्पादनको योजनामा पनि उद्योग छ । नियमित वाइनका साथसाथै बुक प्रणालीबाट पनि यो विशेष वाइन उत्पादन गर्ने योजनामा रहेको उद्योगले डिम्मुर, मेल, अम्बा (बेलाइती) पलमको वाइन बनाइने छ । यसको साथै किवि, सुन्तला अरु विभिन्न घरमा उत्पादित फलफूलको समेत वाइन बनाइने छ ।
त्यसको लागि आधारभुत काम प्रालीले गरिसकेको छ । यसबाट स्थानीय स्तरको आय स्रोतमा बृद्धि गर्ने मुख्य लक्ष राखेको अध्यक्ष शाहले बताउनुभयो । किसानका उत्पादन खरिद गरेपछि त्यो आम्दानी किसानकोमा पुग्ने र सकेसम्म धेरै उत्पादन गर्नका लागि किसानलाई प्रेरित गर्ने लक्ष उद्योगको रहेको शाहको भनाई छ ।