रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका वडा नं. १, २ र ३ मा खाद्य संस्थानको चामल ढुवानी भइरहेको छ । मध्यबर्खामा खराब बाटोका वावजुत पनि यि वडाहरुमा आठबीसकोट नगरपालिका वडा नम्बर ९ को राडी बजारबाट चामल ढुवानी भइरहेको हो । वडा नम्बर १ र २ मा यसअघि नै ४ सय क्विन्टल चालम ढुवानी भएको थियो । वडा नम्बर ३ को खदीमा भने अहिले चामल ढुवानी भइरहेको छ । साउन २४ गते १ सय २० क्विन्टल चामल खदी पुर्याईएकोमा आज १ सय २० क्विन्टल चामल बोकेर ५ वटा ट्याक्टर खदी तर्फ लागेका छन् ।
स्यालाखदीका लागि यो वर्ष १ हजार क्विन्टल चालमको कोटा तोकिएको छ । सबै चामल लिने गरी ढुवानी भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बिकले जानकारी दिनुभयो । ‘वडा नम्बर १ र २ मा करिब ४ सय क्विन्टल चामल गइसकेको छ, उहाँले भन्नुभयो–वडा नम्बर ३ मा पनि करिब अढाई सय क्विन्टल चामल ढुवानी भइरहेको छ, सबै चालम यसैपटक ढुवानी हुने छ ।’
चामल ढुवानीका लागि ५ वटा ट्याक्टर परिचालन गरिएको वडाध्यक्ष बिकले बताउनुभयो । राडीबाट डेढ दिनमा ट्याक्टर खदी पुग्ने गरेका छन् । बर्खामा ठाउँ ठाउँमा बाटो खराव भएका कारण डोजर पनि तयारी अवस्थामा राखिएको छ । उक्त डोजरले ट्याक्टर फसेमा निकाल्ने र अवरुद्ध भएको बाटो खुलाउने काम गरिरहेको वडाध्यक्ष बिकको भनाई छ ।
वडा नम्बर १ र २ मा भने सडक नपुगेका कारण सडक पुगेको ठाउँसम्म ट्याक्टरबाट र त्यो भन्दा उता मान्छेहरुले चामल ढुवानी गर्ने गरेका छन् । यसबाट वडावासीले केही पैसा समेत कमाइरहेका छन् । आठबीसकोट नगरपालिकाका १, २ र ३ नम्बर वडा जिल्लाको दुर्गम वडा हुन् । वडा नम्बर १ र २ मा अझैपनि सडक पुग्न सकेको छैन् । तर पनि यि वडामा बजार मुल्य भन्दा सस्तोमा खाद्यको चामल बिक्रि भइरहेको छ ।
नगरपालिका र खाद्य संस्थानले ढुवानीमा अनुदान दिएपछि बजारमा २ हजार २ सय मुल्यमा पाईने ३० के.जि चामल १ हजार ५ सय मै पाईने गरेको छ । एक बोरामा ७ सय सम्म सस्तो पर्ने गरेको वडाध्यक्ष बिकले बताउनुभयो । सस्तोमा चामल पाईन थालेपछि खाद्यको चामलप्रति नागरिकहरुको आकर्षण बढेको छ ।