हरेक देशको विकासका पूर्वाधारहरुको पनि पूर्वाधार शिक्षा हो । शिक्षा बिकासको मुख्य मेरुदण्ड हो । यसको प्रचुर बिकास नभई कुनै पनि समाज र राष्टको विकास र समृद्धिको कल्पना गर्नु नै महाभूल र मुर्खता हुन्छ । संसारका समृद्ध र विकसित देशहरुको बिकासको प्रधान कारक तत्व नै शिक्षाको प्रयाप्त विकास हुनु रहेको छ । अमेरिका, चीन, जापान, क्यानडा, अष्टेलिया, दक्षिण कोरिया लगायतका विकसित देशहरुले शिक्षा क्षेत्रको बिकासलाई प्रथम प्राथामिकतामा राखेर अगाडी बढिरहेको पाइन्छ । जसको परिणामस्वरुप ती देशहरुले आफ्नो देश र समग्र विश्वको लागि चाहिने अब्बल तथा दक्ष सिर्जनशील जनशक्तिको प्रयाप्त विकास गरिरहेको अबस्था छ । त्यसकारणले गर्दा ती मुलुकहरुले विकासको मोर्चामा अग्रता कायम गरिरहेका छन् । हाम्रै छिमेकी राष्ट भारत र चीन पनि शैक्षिक बिकासको भर्याङ्गबाट द्रुत विकासको मार्गमा अगाडी लम्किरहेका छन् । केहि दिन अगाडि मात्र अमेरिकी राष्टपति जोइ वायडेनले अमेरिकी स्वतन्त्रता संग्राम शिक्षकहरुसँग मनाए र शिक्षकहरुको मात्र तलब भत्ता बढाउनका लागि २० मिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा समेत गरे । उनले अमेरिकाको सम्पूर्ण शिक्षा बिभागको जिम्मा एकजना सामान्य शिक्षक मिग्बेल कर्डोनालाई प्रदान गरेका छन् । उनले भनेका छन् “अब फेरी हामीले नयाँ अमेरिकाको निर्माण गर्नुछ र शिक्षक बिना यो संभव छैन् ।”
........................
तर हाम्रो देश नेपालको सामुदायिक बिद्यालयको शैक्षिक अबस्थालाई गहिरोसित अध्ययन विश्लेषण गर्दा सन्तोषले सास फेर्ने र आरामले निदाउन सक्ने खालको स्थिति छैन् । देशको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरको अबस्था निरन्तर खस्किरहेको अबस्था छ भने क्याम्पस तथा विश्वविद्यालयको अबस्था त झनै बैराग लाग्ने खालको छ । हाम्रा क्याम्पस तथा विश्वविद्यालयहरु त राजनीतिक गुण्डागर्दीका अखडा, ठूला बेरोजगार उत्पादक कम्पनी र प्रमाणपत्रका खोष्टाहरुको बितरण केन्द्र बाहेक अरु के पो हुन सकेका छन् र ? यसरी हेर्दा हाम्रो देशको सार्बजनिक शिक्षा चारैतिरबाट भ्वाङ्गै भ्वाङ्ग परिरहेको लाजमर्दो स्थिति छ । मानब विकासको प्रमुख आधार ठानिएको सामुदायिक बिद्यालयको शिक्षाको स्तर चिन्ताजनक ढङ्गगले निन्तर ओरालो लाग्नुका पछाडी बिभिन्न कारणहरु छन्, जसको बारेमा यहाँ निम्नानुसार संक्षेपमा चर्चा गर्ने जमर्को गरेको छु ।
१. सरकारको प्रमुख प्राथामिकतामा शिक्षा नपर्नूः
नेपालको शैक्षिक इतिहासलाई मसिनो गरेर केलाउँदा अहिलेसम्म कुनै पनि सरकारले देशको शैक्षिक बिकासको सवाललाई नीतिगत तथा कानुनी र ब्यबहारिक रुपमा शिक्षालाई प्रधान प्राथामिकतामा राख्न चाहेनन् र कतिपयले चाहेर पनि काम गर्न सकेनन् । अहिलेपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चलिरहेको हाम्रो देशको शिक्षा प्रणाली पञ्चायतकालीन शिक्षा ऐन २०२८ अनुसार नै चलिरहेको छ । गणतन्त्र नेपालको संबिधान बनेर पनि त्यस अनुसार निर्बाचित नयाँ तर निकै शक्तिशाली ठानिएको सरकारले पनि नयाँ शिक्षा ऐन ल्याउन सकेन् । बिभिन्न कार्यदलले दिएका थुप्रै सुझाव अनि प्रतिवेदनहरु पनि डस्टविनमा फालिएको छ । त्यसको कुनै अत्तोपत्तो छैन् । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर कसरी अभिबृद्धि गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै ठोस योजना ल्याउन सकिएको छैन् । थरीथरीका शिक्षकहरुको ब्यवस्था गरेर शिक्षकहरुबिच सामाजिक, आर्थिक र भावनात्मक दरारहरु पैदा गरिएको छ । शिक्षक सेवा आयोगलाई संबैधानिक आयोग नबनाएर त्यत्तिकै लथालिंग बनाएको अबस्था छ । शिक्षक सेवा आयोगले नियमित काम गर्न सकिरहेको छैन् । चार चार बर्षको अन्तरालमा पनि यसले शिक्षकको रिक्त पद पुर्तिका लागि विज्ञापन समेत गर्न सकिरहेको छैन् । स्वयं शिक्षा मन्त्रालय नै लथालिंगको अबस्थामा छ । सक्षम र क्षमतावान नेता र कर्मचारीहरुको रोजाइमा कहिल्यै पनि शिक्षा मन्त्रालय परेन । देशको स्थायी सरकार कहलाउने कर्मचारीतन्त्र पनि शिक्षक, बिद्यार्थी तथा बिद्यालय र समग्र शिक्षाप्रति कहिल्यै पनि सकारात्मक बन्न सकेन ।
यहि कोभिड १९ को खोप पनि नेपालका सेना, प्रहरी, जनप्रतिनिधि, निजामती कर्मचारी सबैलाई दिइयो तर दैनिक हजारौँ विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षकहरुलाई दिन कुनै जरुरी ठानिएन् । जसका कारण कोभिड १९ को दोस्रो लहर सुरु भए पछाडी करिब २०० भन्दा बढी शिक्षकहरुले मृत्युबरण गर्नुपर्यो । सामुदायिक बिद्यालयको शैक्षिक गतिबिधि र शिक्षकहरुको कार्यसम्पादन प्रक्रियाको अनुगमन तथा सुपरिवेक्षणको काम त सम्बन्धित निकायको भत्ता पकाउने खेल बाहेक अरु हुने कुरै भएन । सरकारले अहिलेसम्म शिक्षामा निकै न्युन लगानी गरिरहेको छ । त्यो लगानी पनि प्रभाबकारी रुपमा उपयोग हुन नसक्दा बालुवामा पानी हाले जस्तो भइरहेको छ । यसरी सामुदायिक बिद्यालयको शैक्षिक अवस्था सुदृढ गर्दै देशको समग्र शैक्षिक क्षेत्रको गुणात्मक विकासका निम्ति सरकार उदासीन, गैरजिम्मेवार र गैरउत्तरदायी हुनु नै सामुदायिक बिद्यालय र समग्र राष्टको शैक्षिक स्थिति डामाडोल हुनुको प्रधान कारण रहेको छ ।
२. शिक्षण पेशाप्रति युवाहरुको वितृष्णा
भारत, चीन, अमेरिका, फिनल्याण्ड जस्ता विकसित मुलुकहरुमा शिक्षकहरुको वृतिविकास र तलब भत्ता लगायतका सेवा सुविधाहरु निकै आकर्षक र लोभलाग्दो खालको छ । त्यहाँ शिक्षक, बिद्यार्थी, प्राध्यापक तथा वैज्ञानिक अनुसन्धानकर्ताहरुको निम्ति शिक्षामा ठुलो धनराशी खर्च गरिएको हुन्छ । जसले गर्दा त्यहाँ प्रतिभावान र जेहेन्दार युवाहरुको प्रमुख रोजाइ नै शिक्षण पेशा बन्न जान्छ । त्यसको परिणाम स्वरुप ती मुलुकहरुले अब्बल शिक्षकहरुको प्रभावकारी परिचालनको माध्यमबाट विश्वमै गुणस्तरीय शिक्षाको उत्कृष्ट नमुना प्रस्तुत गर्न सकेका छन् । तर हाम्रो देश नेपालमा त्यसको ठिक विपरित अवस्था रहेको छ । यहाँ शिक्षकलाई दिइने सेवा सुविधा निकै आपत्तिजनक अबस्थाको छ । सरुवा बढुवाको त यहाँ कुनै ठेगानै छैन् । धेरैजसो शिक्षकहरु त सेवा अवधिभर एकपटक पनि बढुवा नभएर सेवानिवृत भएको मैले आफ्नै आँखाले देखेको छु । आवश्यकतानुसार तालिमको अवसर, टिएडिए, आवास, रासन, भ्रमण भत्ता जस्ता सेवा सुबिधा त नेपाली शिक्षकहरुले पाउने कुरै भएन् । आर्थिक बर्ष २०७८÷०७९ को बजेटले त झनै शिक्षकहरुलाई विभेद, अन्याय, अपमान गरेको अबस्था रहेको छ । अधिकांस शिक्षकहरु त अहिले पनि चौमासिक रुपमा तलब पाउने गर्छन् । यसरी शिक्षकहरुले निकै न्युन सेवा सुबिधामा हेपिएर काम गरिरहेको दृष्य टुलुटुलु हेरीरहेका प्रतिभावान युवाहरुमा शिक्षक बन्ने रहर पनि कसरी जागोस् ? यसकारण यहाँ कुनै पनि युवाको रहरको रोजाई शिक्षक बन्ने भन्ने कुरै भएन । बरु काम चलाउको र निकै कहरको पेशा बन्न पुगेको छ आज शिक्षण । यो कारणले पनि हाम्रो देशको शिक्षा क्षेत्रमा निकै प्रतिकुल प्रभाव पारिरहेको अबस्था छ ।
३. आफ्नो पेशाप्रति बफादार.शिक्षकहरुको कमी
जुनसुकै देशको शैक्षिक क्षेत्रको वास्तविक पहरेदार र कारिन्दा भनेकै शिक्षक हुन् । आफ्नो पेशाप्रति बफादार दक्ष र प्रतिभावान शिक्षक नभएसम्म जतिसुकै राम्रो शिक्षा नीति नियम र कानुन बनाए पनि त्यसको कुनै अर्थ र औचित्य हुन सक्दैन् । हाम्रो देशमा थोरै मात्र शिक्षकहरु आफ्नो पेसाप्रति निकै उत्तरदायी र बफादार छन् । दुखका साथ भन्नुपर्छ यहाँका अधिकांस शिक्षकहरु आफ्नो पेशाप्रति इमान्दार भएको पाइदैन् । केही शिक्षकहरु त यस्ता छन् जो प्राय स्कुलै जाँदैनन् । स्कुलमा गए पनि कक्षामा जाँदैनन् । कक्षामा गए पनि पुरा समय शिक्षण गर्दैनन् । यदि शिक्षणै गरिहाले पनि आवश्यक वीधि पद्धति र ढङ्ग पुर्याएर शिक्षण गरेको पाइदैन् । केहि शिक्षकहरुमा त आफुले अध्यापन गर्ने विषयवस्तुको न्युनतम ज्ञान पनि नभएको अबस्था छ । आफ्नो विषयवस्तुमा हुनुपर्ने न्यूनतम ज्ञानै नभएकाले शिक्षण वीधि र शैक्षिक साम्राग्रीहरुको प्रयोग गर्ने त कुरै भएन । केही शिक्षकहरुका लागि त बिद्यालय आराम गर्ने थलो बनेको छ भने केहीका लागि राजनीतिक शक्ति र सत्ता प्राप्तिको जग र भर्याङ्ग दुबै बनेको छ । केही राम्रा भनिएका शिक्षकहरु पनि परिवर्तित समय, परिवेश, विज्ञान तथा प्रविधि अनुसार अपडेट भइरहेको पाइदैन् । यसरी अधिकांस शिक्षकहरुको गलत चिन्तन, प्रवृति, आचरण तथा ब्यवहारका कारणले शिक्षणको क्षेत्रमा केही न केही नयाँ र उच्च योगदान गर्नुपर्छ भन्ने सकारात्मक सोच र ब्यवहारले ओतप्रोत प्रतिभावान दक्ष र असल शिक्षकहरुको पनि बदनाम समेत भइरहेको छ । यसरी राष्टको शैक्षिक रुपाञ्तरणको एक मात्र बौद्धिक एवम बैचारिक सेना शिक्षक नै आफ्नो कामका लागि मानसिक र शारीरिक रुपमा तयार नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिको कुरा गर्नुको कुनै अर्थ हुँदैन् ।
४. अभिभावक शिक्षाको अभावः
हामी सबैलाई थाहा नै छ कि मानिसको पहिलो पाठशाला विद्यालय हो भने आमा प्रथम गुरु हुन् । आमा पछाडीका बुवा लगायत परिवारका अन्य अभिभावकहरु पनि हरेक ब्यक्तिका महत्वपुर्ण शिक्षक मानिन्छन् । कुनै पनि ब्यक्तिले बिद्यालयको प्राङ्गनमा पाइला टेक्नुपुर्व नै उसको बाँकि जीवनलाई हरेक हिसावले प्रभाब पार्न सक्ने थूपै्र राम्रा नराम्रा कुराहरु आफ्ना अभिभावकहरुबाट घरमा नै सिकिसकेको हुन्छ । यसकारण हरेक बालकको समुचित बृद्धि र बिकासका लागि घरपरिवार तथा अभिभावकको वातावरण सकारात्मक र सिकाइ अनुकुल हुनुपर्छ । तर सामुदायिक बिद्यालयका हाम्रा अभिभावकहरु आफ्ना बच्चाहरुको सिकाइ वातावरणको जानकारी लिन स्कुल जाने र आवश्यक पृष्ठपोषण लिने दिने त कुरै छैन् । कहिलेकाहीँ स्कुलले अभिभाबक भेलाको आयोजना गरेर आफ्ना अभिभाबकहरुलाई आमन्त्रण गरेमा एउटा पनि अभिभाबक उक्त कार्यक्रममा उपस्थित नहुने बिडम्बना छ । अभिभावकले कहिल्यै पनि आफ्ना बच्चाको सिकाइ स्तर किन अपेक्षाकृत रुपमा गुणस्तरीय हुन सकेन भनेर सरोकारवाला पक्षलाई कहिल्यै प्रश्न गरेन । यसरी बिभिन्न कारणले हाम्रो देशका धेरैजसो अभिभावकहरुमा आफ्ना बालवालिकाहरुको मानसिक, शारीरिक, संवेगात्मक तथा शैक्षिक विकासको लागि चाहिने आधारभूत न्यूनतम ज्ञान, सीप र ब्यवहार नहुँदा खेरी पनि सामुदायिक बिद्यालयमा अध्ययन गर्ने धेरैजसो वालवालिकाहरुको सिकाइमा नकारात्मक असर परिरहेको छ ।
५. त्रुटीपुर्ण पाठ्यक्रमः
हाम्रो देशको पाठ्यक्रम सिद्धान्त र गफ केन्द्रित छ । ब्यवहारिक, वैज्ञानिक, जीवनउपयोगीता र सिर्जनात्मकताको बाटोबाट हाम्रो पाठ्यक्रम निकै टाढा छ । जसको परिणामस्वरुप हाम्रो शैक्षिक उत्पादन जागीर र भाषण केन्द्रित छ भने श्रमदेखि टाढा भाग्ने र लागुपदार्थ दुब्र्यसनी लगायत बिभिन्न किसिमको कुलतमा रुमल्लिने खालको छ । आज देश समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा गइसक्दा पनि हाम्रो पाठ्यक्रम भने पुरानै दलाल पुजीवादी अर्थब्यवस्थालाई नै मलजल गर्ने खालको छ । यसबाट के पुष्टि हुन्छ भने हाम्रो पाठ्यक्रम अझै पनि ब्यबहारिक, ब्यवसायिक, रोजगार तथा स्वरोजगारमुलक, अनुसन्धानमुलक, सिर्जनशील र जीवन उपयोगी बन्न सकेको छैन् । यसकारणले गर्दा पनि सामुदायिक बिद्यालयको शैक्षिक अबस्था परिणाममुखी हुन सकिरहेको छैन् ।
सुझाव तथा निश्कर्षः
यसरी अझैं पनि देशको शैक्षिक अवस्था अस्तव्यस्त र भद्रगोल भइरह्यो भने हामी पुस्तौँ पुस्ता पछाडी रहन्छौँ । हामी कसैलाई पनि यस्तो खराब अबस्थाको आरोप अरुमाथि थोपरेर आफूँ चाहिँ पानीमाथिको ओभानो हुने छुट छैन् । यो खराब स्थिति सिर्जना हुनुमा धेरथोर हामी सबैको भुमिका रहेको छ । यदि साँच्चिकै हाम्रो देशको सामुदायिक बिद्यालयको गुणस्तर अभिवृद्धि गर्ने नै हो भने सरकारी पदधारण गरेका कार्यालय सहयोगी देखि प्रधानमन्त्री राष्टपतिसम्मले आफ्ना छोराछोरीहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गरौँ । सामुदायिक बिद्यालयमा नै आफ्ना सन्तान र समग्र देशको भविष्य खोजौँ । यसो गर्दा सिंगो राष्टको मुल चासो, माया र लगानी जादुमय ढङ्गले एकाएक सामुदायिक बिद्यालयमा केन्द्रित हुनेछ । यसका निम्ति शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक दल र ती दलका नेता कार्यकर्ता, सरकार तथा त्यसका मन्त्री र कर्मचारी, पत्रकार लगायत सम्पुर्ण सरोकारवाला पक्षहरु सच्चिएर नयाँ सोच र उचाइबाट एउटा शैक्षिक पुनर्जागरणको राष्ट्रिय महाअभियानको यथाशीघ्र आरम्भ गरौँ । असंभव भन्ने मानवजातीका लागि यो संसारमा केही पनि छैन् । यो विश्वलाई नेपालको अब्बल गुणस्तरीय शिक्षाको माध्ययमबाट देशको आर्थिक समृद्धि र सामाजिक, सांस्कृतिक रुपाञ्तरणको उत्कृष्ट उदाहण प्रसतुत गर्न हामी सक्छौँ र सक्नैपर्छ । यो युगीन अबसर, दायित्व र चुनौति हाम्रो पुस्ताको सामु हाजिर भएको छ ।
लेखक रुकुम पश्चिमको शितल मावि चौरजहारीमा कार्यरत मावि तृतिय श्रेणीको शिक्षक हुनुहुन्छ ।