रुकुम पश्चिममा कोरोना संक्रमण बढेको छ । पछिल्ला दिनहरुमा दैनिक औसतमा १५ जना जति संक्रमितहरु देखिन थालेका छन् । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा पनि कोरोना संक्रमितहरु थपिने क्रम बढेको हो । साउन सुरु भएपछि संक्रमण दर केहि बढेकोमा साउन दोस्रो साता देखि भने संक्रमण झन बढेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कारोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो ।
‘पछिल्ला दिनहरुमा कोराना संक्रमणको दर बढेको छ, दैनिक १५ जनासम्म कोरानाका बिरामीहरु देखा परिरहेका छन्, उहाँले भन्नुभयो–साउन लागेदेखि जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ, अझै बढ्ने देखिन्छ ।’ अहिले जिल्लामा ९९ जना संक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा बैशाख पहिलो साता देखि कोरोनाको दोस्रो लहर फैलिएको थियो । तर असारमा भने संक्रमण घटेको थियो । असारमा परीक्षण पनि कमै भएको थियो ।
साउन लागेपछि भने पुनः परीक्षण बढाईएको र संक्रमितहरु पनि थपिने क्रम बढिरहेको कोरोना रोग नियन्त्रण फोकल पर्शन रावलले बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसंगै जनस्वास्थ्यका मापदण्डहरुको पालना नहुँदा संक्रमण बढेको उहाँको भनाई छ ।जिल्लामा गत वैशाख १९ गतेदेखि लागु भएको निषेधाज्ञा अझै जारी छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन ३२ गते सकिदै छ । तर निषेधाज्ञा खुकुलो पारिएको छ । अहिले नामको मात्र निषेधाज्ञा छ भन्दा पनि हुन्छ । सबै क्षेत्र खुलिसकेका छन् ।
मान्छेहरुको चलहपहल बाक्लो भइसकेको छ । तर मास्क, सेनिटाईजर, भौतिक दुरी लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना भने भइरहेको छैन् ।