भ्यागुता भन्ने बितिकै ट्वार ट्वार.........आवाजले हामीलाई सम्झाउछ । झट्ट हेर्दा डरलाग्दो देखिन्छ । तर यो जीव वातावरणमैत्री हुन्छ । यसले मनसुन सुरुवातीको दिन बुझाउछ । जब भ्यागुताहरु बास्न थाल्छन् तब वर्षाको सुरुवातको दिन बुझ्ने गरिन्छ । भ्यागुताको आगमन सगैं किसानहरुले अब त वर्षा हुने भयो भनेर सम्झन थाल्छन् । किसानीको पहिलो सुरुवाती भ्यागुताको आवाजबाट हुने गर्दछ । बढ्दो विकासले गर्दा आज भोली खासै वास्ता भएको पाइदैन् । कुनै बेला खोला नाला, खेतबारी, बाटोघाटो जताततै देखिने भ्यागुता मानविय गतिविधिको कारणले लोप हुने उच्च जोखिममा देन्छिन् ।
नेपालमा भ्यागुताको अबस्था
नेपालमा उभयचर प्रजातीको संख्या ५९ रहेको छ । जसमध्ये २ Salamandar प्रजाती, १ Ciecilians प्रजाती र ५६ भ्यागुता प्रजाती पाइन्छन् । जनकराज खतिवडाले २०२० मा गरेको एक अध्ययन अनुसार, नेपालमा हालसालै एक नयाँ प्रजातिको भ्यागुता पहिलोपटक भेटिएको छ । यसको संख्यामा दिनानुदिन घट्दो क्रममा छ । बढ्दो विकास र वातावरणीय प्रभावले गर्दा भ्यागुताको बासस्थान, आहारामा समस्या देखापरेको पाइन्छ । साथै बढ्दो मानवीय हस्तक्षेपका कारण भ्यागुताको अस्तित्वलाई संकटमा पार्न मुख्य भूमिका खेलेको छ ।
बढ्दो सहरीकरण, जलवायु परिवर्तन, विकासको नाममा वातावरणमा ह्रासले बासस्थानको विनाश, खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोग तथा किट्नाशक औषधीको प्रयोग र विज्ञान संकायको प्रयोगशालामा प्रयोगले भ्यागुताको संख्यामा कमि आउनुका साथै भ्यागुताको जीवन–चक्रमा नकारात्मक असर परेको छ । भ्यागुता एक Cold Blooded प्राणी हो । जसको कारणले यसको संवेदनशील छाला हुन्छ । जसलाई तापक्रम र वातावरण परिवर्तनले प्रभाव पार्छ । जसको कारणले गर्मी समयमा जमिन बाहिर र चिसो समयमा जमिनमुनि बस्ने गर्दछ । प्रायः प्रजातीको जीवनको सुरुवाती अवस्था अन्डा र चेपागाँडा पानीमै बित्ने भएकाले जल प्रदूषणले यसको अस्तित्व संकटमा परेको छ । वातावरणमा हुने विभिन्न प्रदुषणले यसको प्रजनन प्रकृया तथा वृद्धि विकासमा ठुलो असर परेको छ ।
भ्यागुताको महत्व
भ्यागुता एक सामाजिक, आर्थिक, सांस्कृतिक र वातावरणीय महत्वपूर्ण प्राणी हो । वातावरणीय महत्वलाई हेर्दा खाद्य चक्रको मध्य भागमा रहने भ्यागुताले पारिस्थितिक प्रणाली सन्तुलन राख्न अहं भूमिका निर्वाह गर्दछ । यसले खेतबारीमा भएका कीरा, फट्यांग्राको संख्या नियन्त्रण गरेर उत्तपादनमा वृद्धि गर्दछ । यसको ब्यबसायिक उत्पादन गरेर आर्थिक रुपमा लाभ लिन सकिन्छ ।
सांस्कृतिक रूपमा हेर्ने हो भने नेपालमा समयमा पानी परेन भने भ्यागुताको बिहे गरिदिने प्रचलन छ । यसका साथै नेवार समुदायले श्रावण शुक्ल पूर्णिमाका दिन गुँपुन्हीका अवसर पारी वर्षा गराउनका लागि भ्यागुताको पूजा गर्ने प्रचलन रहेको छ । भ्यागुताले पानीलाइ सफा राख्दछ जसको कारणले पानीमा किरा तथा लामखुट्टे नियन्त्रण गरेर त्यसबाट सर्ने विभिन्न किसिमका रोगहरु पनि कमि गर्दछ । जसले गर्दा औषधोपचारमा लाग्ने खर्च जोगिन्छ । यसको प्रत्यक्ष सम्बन्ध धान तथा खाद्य उत्पादन र नाफासँग जोडिएको छ । भ्यागुता स्वादिष्ट खाना तथा प्रोटिनका रूपमा साथै ओषधीको रुपमा प्रयोग गरिएको छ । यसका साथै उच्चशिक्षामा बर्सेनि लाखौँ भ्यागुताको उपयोग गर्ने गरेको पाइन्छ ।
भ्यागुताको अध्ययन तथा संरक्षण
नेपालमा भ्यागुता सम्बन्धी अध्ययन अनुसन्धानको इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा केही अध्ययन अनुसन्धान भए पनि केहि भागमा मात्र अध्ययन भएको पाइन्छ । नेपालमा केहि प्राध्यायपक तथा केही संघ–संस्थाहरुले अनुसन्धान गरेको पाइन्छ । तै पनि हामीसँग देशभरिका भ्यागुताको पर्याप्त जानकारी भने छैन । भ्यागुता सम्बन्धी अध्ययन गर्ने एक संस्था ‘क्यारोन’ले करिब एक दशक देखि भ्यागुताको अध्ययन गर्दै आइरहेको छ । त्यस्तै अर्को संस्था Environment Protection and Study Center(ENPROSC) ले पनि पछिल्ला दिनहरुमा नागरिक वैज्ञानिकलाई परिचालित गरी देशका विभिन्न ठांउबाट भ्यागुताको अध्ययन गर्न थालिएको छ ।
यसका साथै विभिन्न तहका विद्यार्थीले आफ्नो शोध कार्यका लागि भ्यागुता र सरिसृपको अध्ययन तथा अनुसन्धान गर्ने क्रम बढेको पाइन्छ । जसलाई सकारात्मक रूपले लिनुपर्छ । तर, भ्यागुताको संरक्षणका लागि आवश्यक वासस्थानसँगको सम्बन्ध, आहाराको कमि तथा तिनीहरूको जीवनचक्रमा वातावरणीय परिवर्तनका कारण परेको असरहरु लगायत थुपै्र कुराहरु अनुसन्धान सुरु गर्न सकिएको छैन । यस्तो हुनुमा पर्याप्त आयश्रोतको अभाब तथा अध्ययनको विगत साथै ब्यबस्थित नियम कानुनको कमि देख्न सकिन्छ । अर्को महत्वपूर्ण पक्ष, भ्यागुताको जीवनचक्र वा उनीहरूको परिस्थितिमा कस्तो परिवर्तन हुँदैछ भनेर जानकारी राख्न हामीसँग पर्याप्त तथ्यांकको अभाव पनि देखिन्छ । भ्यागुताको संरक्षण गर्नुपर्छ भनेर आम मानिस र नीति–निर्माण तहमा सन्देश पु¥याउन पनि नितान्त जरुरी देखिन्छ ।
हाम्रो दैनिक जीवनमा जैविक इन्जिनियरको रुपका अमूल्य योगदान पुर्याइरहेका भ्यागुतालाई संरक्षणको मूलधारमा अटाउन नसक्नुलाई पक्कै पनि राम्रो कुरा मान्न सकिँदैन । भ्यागुता संरक्षणका लागि सर्वप्रथम जो जुन ठांउबाट हुनु हुन्छ त्यहिबाट अध्ययन तथा अनुसन्धान कार्य सुरु गर्न अनिवार्य छ । त्यसपछि सम्बन्धित निकायले आमनागरिकलाई भ्यागुताको महत्वबारे जनचेतना दिनु पर्दछ । साथै, नीति–निर्माण तहबाटै भ्यागुता संरक्षणमा पहल गरिनु पर्र्दछ ।
हाम्रो वरिपरीका जिवजन्तुको संरक्षण गरी वातावरण जर्गेना गरौं ।
लेखक त्रिभुवन विश्वविद्यालयमा स्नातक वातावरण शास्त्रमा अध्यनरत हुनुहुन्छ । उहाँ रूकुम पश्चिममा -Croaking Monsoon District-Representative का रूपमा पनि कार्यरत हुनुहन्छ ।